साफ च्याम्पियनसिप फुटबल : १० खेलाडीमा समेटिएको भुटानले माल्दिभ्सलाई हरायो

साफ च्याम्पियनसिप फुटबल : १० खेलाडीमा समेटिएको भुटानले माल्दिभ्सलाई हरायो

काठमाडौँ : साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बुधवार भएको खेलमा भुटानले माल्दिभ्सलाई हराएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो। यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन/तीन अङ्क जोडेका छन्। दुई खेले खेलेको माल्दिभ्स भने अङ्कविहीन छ। यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एक/एक गोल गरे । यता माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए। खेलमा पहिलो अग्रता भुटानले लियो। खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए।

खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो। गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो। माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो।    

खेलको ८९ औँ मिनेटमा भुटानले पुनः अग्रता लियो । भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याएका थिए। उक्त प्रतियोगिताअन्तर्गत भोलि बिहीबार नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ। नेपाल पहिला नै सेमिफाइनलमा पुगिसकेको छ।

भदौ ५, २०८१ बुधबार १८:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।