नागढुङ्गा सडक एकतर्फी रूपमा खुल्यो, पहिरो आउनसक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरोका कारण अवरुद्ध सवारी आवागमन एकतर्फी खुलेको छ। पहिरोमा आएको ढुंगामाटो हटाएपछि साँझ ५ बजेदेखि सडक एकतर्फी खुलेको हो।
वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान साढे १० बजेदेखि पहिरो खसेर सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना छ। अहिले तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ।
‘कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौँ उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,’ उनले भने।
नागढुङ्गा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खस्दा काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधन दिनभर ठप्प भएको थियो। नागढुङ्गा प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधन ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन्। काठमाडौँ छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन्।
भदौ ५, २०८१ बुधबार १७:४५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।