पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता, चिनाकुमारी र ज्योतिको समलिङ्गी विवाह दर्ता

पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता, चिनाकुमारी र ज्योतिको समलिङ्गी विवाह दर्ता
तस्बिरमा समलिंगी महिला

काठमाडौं : पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ। रामपुर वडा नम्बर ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको हो। 

रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी वडा सचिव मो युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रका आधारमा विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बताए। 

समलिङ्गी विवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिए। 

चिनाकुमारी रामपुर–९ जब्गादी निवासी र ज्योति नवलपुर (नवलपरासी सुस्तापूर्व) बौदिकाली गाउँपालिका–१ मिथुकरमकी हुन्। चिनाकुमारी र ज्योतिले २०७८ असोज २९ मा परम्पराअनुसार पाल्पाको सिद्धबाबा मन्दिरमा विवाह गरेका हुन्। 

वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्रै कानुनी रूपमै उनीहरू विवाह बन्धनमा बाँधिएका छन्। उनीहरू दुवैजना समलिंगी महिला हुन्।

चिनाकुमारी र ज्योति लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ। विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ। 

दुवै जना वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। उनीहरू घर आएको समयमा विवाह दर्ता गराएका हुन्।  

भदौ ४, २०८१ बुधबार १७:१६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।