धनुषामा ३७७ उद्योग बन्द हुँदा नौ हजार बढी कामदार बेरोजगार

धनुषामा ३७७ उद्योग बन्द हुँदा नौ हजार बढी कामदार बेरोजगार

काठमाडौं : धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले त्यहाँ गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका छन्। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन्।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नवीकरण, पूजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपि दुई सय २५, नाम परिवर्तन ६९ तथा आयात एवं निर्याततर्फ ५४ व्यवसाय छन्। 

त्यसैगरी उद्योगतर्फ दर्ता आठ सय पाँच, नवीकरणतर्फ नौ सय ७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपितर्फ एक सय ६, फर्मको नाम परिवर्तन ४३ तथा उद्देश्य थप १२ वटा रहेको छ। 

सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नवीकरण बापत ५७ लाख २३ हजार राजस्व संकलन गरेको प्रमुख यादवले बताए। गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करीब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए।

हाल धनुषामा साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन्। ती उद्योगमा महिला र पुरुष गरी करीब सात हजार कामदार प्रत्यक्षरुपमा लाभान्वित हुँदै आएका कार्यालय प्रमुख यादवले जानकारी दिए।  

भदौ ४, २०८१ बुधबार १६:४६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।