पेट दुखेको भन्दै अस्पताल भर्ना गरिएका थुनुवा हतकडी फ्याँकेर अस्पतालबाटै भागे

पेट दुखेको भन्दै अस्पताल भर्ना गरिएका थुनुवा हतकडी फ्याँकेर अस्पतालबाटै भागे

काठमाडौं : इलाका प्रहरी कार्यालय अनारमनी, झापाका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन्। 

फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागूऔषध मुद्धामा यही भदौ २ मा बिर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए। अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो।

हिरासतमा रहँदा अत्यधिक पेट दुखेको बताएपछि राईलाई मंगलबार अपरान्ह ४ बजेतिर बिर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए।  

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए। 

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ। 

भदौ ४, २०८१ बुधबार १६:२७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।