रुपन्देहीमा उत्पादित तीन तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको उच्च प्रयोग

रुपन्देहीमा उत्पादित तीन तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको उच्च प्रयोग

बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिका तरकारीको पकेट क्षेत्र हो। यहाँको तरकारी हरेक विहान बुटवलमा लाग्ने हाटबजार पुग्छ। स्वयं कृषकहरू समेत आफ्नो उत्पादन सिधै बजारमा लगेर बिक्री गर्छन्।

कुल नौ हजार ६७९ हेक्टर क्षेत्रफलमा फैलिएको गाउँपालिकामा ८१.२६ प्रतिशत अर्थात ७ हजार ९ सय हेक्टर जमिन कृषिमा उपयोग भएको छ। यहाँ काउली, खुर्सानी, टमाटर, काँक्रा, साग, भान्टा लगायतका तरकारी उत्पादन हुने गर्दछन्।

स्थानीय बजारमा गैडहवाको तरकारी भन्ने बित्तिकै उपभोक्ता आँखा चिम्लेर तरकारी खरिद गर्छन्। तर, एक अध्ययनले भने गैडहवामा उत्पादन हुने मुख्य तीन तरकारी बालीमा हानिकारक विषादीको प्रयोग भएको भेटिएको छ।

गोविन्द भण्डारी लगायतका वैज्ञानिक समूहले गरेकाे र सन् २०१९ को ‘इन्भायरोमेन्टल रिसर्च भोलम १७२’मा प्रकाशित अनुसन्धानको आधारमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले गैडहवा गाउँपालिकामा उत्पादन हुने तरकारी बाली मध्ये टमाटर, भान्टा र खुर्सानीमा अध्यधिक मात्रामा मानव स्वास्थ्यका लागि हानिकारक विषादी प्रयोग हुने गरेको भेटिएको हो।

अध्ययनमा २७ वटा भान्टा, २७ वटा खुर्सानी र ३२ वटा टमाटर गरी तीन बालीका ८६ वटा नमुनाहरूमा विषादीको अवशेष परीक्षण गरिएको थियो। परीक्षणपछि भान्टा, टमाटर र खुर्सानीमा क्लोरपाइरिफोस कीटनाशक विषादीको अत्यधिक अवशेष भेटिएको सेफडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक राम चरित्र साहले बताए।

क्लोरपाइरिफस, नेपालमा सन् २००० मा पहिलो पटक दर्ता गरिएको कीटनाशकको रूपमा प्रयोग हुने अर्गानोफस्फेट समूहको अति घातक विषादी हो। नेपालमा प्रयोग हुने शीर्ष १० कीटनाशक विषादीहरूमध्ये क्लोरपाइरिफोस पनि एक हो।

नेपालमा यो विषादी भान्टा, टमाटर, खुर्सानीको अलावा जौ, गहुँ, धान, चना, पहेँलो दाल, बदाम, उखु, कपास, तोरी, बन्दागोभी, काउली, प्याज, आलु, सुन्तला, आदि जस्ता विभिन्न बालीहरूमा व्यापक रूपमा प्रयोग हुने गर्दछ।

यो फट्याङ्ग्रा, लामखुट्टे र राउन्डवम्र्स लगायत विभिन्न प्रकारका कीटाणुहरू नियन्त्रण गर्न प्रयोग गरिने विषादी हो। यो एक न्यूरोटोक्सिन कीटनाशक हो, जसले किराहरूको स्नायू प्रणालीमा इन्जाइमको उत्पादन गर्न रोकी तिनीहरूलाई मार्दछ। यसले मानव र अन्य जनावरहरूको स्नायू कोषहरूमा पनि उत्तिकै हानी गर्ने वैज्ञानिक साहले बताए।

नेपालमा जम्मा २९५ ट्रेड नामले र क्लोरपाइरिफसका विभिन्न फरमुलेसनमा आयात, बिक्री, वितरण र प्रयोग हुँदै आएका छन्। गैडहवा गाउँपालिकामा उत्पादन हुनेमध्ये तीन वटा तरकारीका नमुनाहरू परम्परागत खेती, एकीकृत किट व्यवस्थापन (आईपीएम)का क्षेत्रहरू र केही खेतबाट संकलन गरिएको थियो।

कुल ८६ वटा तरकारीका नमूनाहरूमा २३ प्रकारका विषादीहरू परीक्षण गरिएको थियो। परीक्षण गरिएका २७ भान्टाको नमूनाहरू मध्ये ११ वटामा प्रति किलोग्राम १.१९ देखि ४५.३ माइक्रोग्राम क्लोरपाइरिफस पाइएको थियो।

त्यस्तै ३२ टमाटरको नमूनाहरू मध्ये ३० वटामा प्रति किलोग्राम १०७-१७७२ माइक्रोग्राम क्लोरपाइरिफस र परीक्षण गरिएका २७ खुर्सानीको नमूनाहरूमध्ये २२ वटामा प्रति किलोग्राम १.२९-४९१ माइक्रोग्राम क्लोरपाइरिफस पाइएको थियो।

यसको अलावा ट्राइजोफोस, ओमेथोएट, क्लोरपाइरिफोस र कार्बेन्डाजिम १० माइक्रोग्राम पर किलोग्राम भन्दा बढी पाइएको साहले बताए।

साथै, टमाटरको २५ प्रतिशत नमूनामा र ४ प्रतिशत खुर्सानी नमूनामा नेपाली खाद्य पदार्थमा क्लोरपाइरिफसकोब लागि तोकिएको अधिकतम विषादीको सिमा ५० माइक्रोग्राम पर किलोग्राम भन्दा पनि बढी क्लोरपाइरिफोस पाइएको र यसले आम उपभोक्ता र किसानहरू निकै प्रभावित भइरहेको वैज्ञानिक साहको भनाइ छ।

त्यसैगरी वैज्ञानिक कृष्ण कुमार अर्याल लगायतका समूहले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को लागि काभ्रे, इलाम र रसुवाका तरकारी बाली लगाउने ६२८ जना किसानलाई विषादीको असर र लक्षणबारे पनि अध्ययन गरेको थियो।

जस अनुसार ६२८ सहभागी किसानहरू मध्ये ३१७ ले विषादी छर्केको तुरुन्तै असुविधा भएको गुनासो गरेका थिए। लगभग ४३.७५ प्रतिशत सहभागीहरूले टाउको दुख्ने गुनासो गरेका थिए।

धमिलो दृष्टि २५.४५ प्रतिशतमा, ढाड दुखाइ २४.३५ प्रतिशतमा, र चक्कर र वाकवाकी हुने १९.७५ प्रतिशले गुनासो गरेको थिए। एक दशांश भन्दा बढी सहभागीहरूले मुख सुख्खा हुने, छालाको जलन र मांसपेशीसम्बन्धी रोगको गुनासो गरेका थिए।

अर्गानिक तरकारी उत्पादनमा किसानलाई प्रोत्साहन गर्दैछौँ- गाउँपालिका प्रमुख पौड्याल
गैडहवा गाउँपालिकाका प्रमुख सुरेन्द्र पौड्यालले कम लगानीमा बढी प्रतिफल खोज्ने प्रवृत्ति किसानमा हुँदा पछिल्लो समय विषादीको प्रयोग तरकारीमा बढी हुने गरेको बताए।

अर्गानिक तरकारी उत्पादन गरेमा बजारमा राम्रो मूल्य पाउने सुनिश्चितता भए पनि बढी प्रतिफल एकै पटक खोज्दा किसानहरूले बेपरवाह विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ छ।

उनले अर्गानिक खेती प्रवर्द्धनका लागि कृषि मिटर, गड्यौला मलका लागि किसानलाई तालिम समेत दिइरहेको बताए। साथै उनले युएनडिपी र सेतो गुराससँग कृषिमा सहकार्य गरेर अघि बढ्न लागेको समेत जानकारी दिए।

‘क्लोरपाइरिफोस विषादी प्रतिबन्ध हुन जरुरी’
नेपालले वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र विषादी लगायत कृषि रसायन व्यवस्थापन गर्न स्टकहोम महासन्धी, बासेल महासन्धी र रोटरडम महासन्धिहरूलाई अनुमोदन गरिसकेको छ।

तर, पनि नेपालमा ठूलो परिमाणमा क्लोरपाइरिफोस (ठोस, तरल र मिश्रण) को आयात र प्रयोग बढिरहेको छ। वैज्ञानिक साहले क्लोरपाइरिफोसको बढ्दो प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रभाव पनि बढ्दै बताए।

‘क्लोरपाइरिफोस कीटनाशकहरू प्रयोग गरेर सम्बन्धित किसानहरूको स्वास्थ्यमा गम्भीर स्तरको प्रभावहरू पनि देखा परेको अनुसन्धानबाट पुष्टि भएको छ। त्यसैले यसको प्रतिबन्ध लगाउन सरकारले जरुरी छ’, उनले भने।

क्लोरपाइरिफोस र यसका अन्य डेरिभेटिभहरू लगभग ४० धेरै देशहरूमा प्रतिबन्धित भैसकेको र यसलाई नेपालमा पनि तत्काल प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ छ।

‘क्लोरपाइरिफोस लाई स्टोकहोम पप्स (पीओपी) महासन्धिको अनुशूची ए (उन्मूलन) र रोटरड्याम महासन्धिको अनुशूची ३ मा समावेश गर्ने अन्तिम मूल्याङ्कनको क्रममा छ,’ वैज्ञानिक साहले थपे, ‘त्यसैले पनि नेपाल सरकारले यसलाई प्रतिबन्ध लगाई क्लोरपाइरिफोस लाई स्टोकहोम र रोटरड्याम महासन्धिमा अनुशूचीकृत गर्न पहल गर्नु पर्दछ।’ 

भदौ ४, २०८१ बुधबार १०:३८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।