नुवाकोटमा जन्म र मृत्युदर्ता गराउँदा पाँच-पाँच हजार रुपैयाँ पाइने

नुवाकोटमा जन्म र मृत्युदर्ता गराउँदा पाँच-पाँच हजार रुपैयाँ पाइने

नुवाकोट : जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ कार्यालयले वडाभित्र हुने जन्म र मृत्यु दर्ता गर्दा पाँच हजार उपलब्ध गराउने भएको छ।

गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार उपलब्ध गराउन सुरू गरेको वडाले चालु आर्थिक वर्षदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि पाँच हजार रुपैयाँ उपलब्ध गराउन सुरु गरेको हो।

उक्त कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग रकम उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए।

उनले भने, ‘गत वर्ष बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले रु पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गर्न ल्याएको कार्यक्रम प्रभावकारी बन्यो । यस वर्षदेखि वडाबासी कोही व्यक्तिको निधन भएमा ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई पाँच हजार रुपैयाँ दिन लागिएको छ।’

उनले थपे, ‘वडामा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई मृत्युपश्चात संस्कार गर्न गाह्रो छ। सुखमा मात्र होइन, दुःखमा पनि सरकारको साथ हुनुपर्छ भनेर राहत स्वरूप पाँच हजार प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ।’

भदौ ४, २०८१ बुधबार ०९:५०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।