आठ जना तीर्थयात्री बगाएको खोलामा अस्थायी लाप्का

आठ जना तीर्थयात्री बगाएको खोलामा अस्थायी लाप्का

मुगु : मुगु छायानाथ रारा नगरपालिका-१ स्थित अल्का साँघु भन्ने स्थानमा नगर पालिकाले अस्थायी साँघु बनाएको छ।

सोमबाट छायानाथ धामबाट फर्कँदै गरेका तीर्थयात्रु मध्ये आठ जना उक्त स्थान भएर बगेको गमगाढ खोलामाथि लगाइएको लाप्कोबाट खसेपछि मंगलबार नगरपालिकाले दुई वटा लाप्का लगाएको हो।

छायानाथ रारा नगरपालिका-१ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार वडाको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, वडा नम्बर १ र घाटगाउँका स्थानीयहरूको सहयोगमा दुई वटा काठका लाप्का लगाइएको छ।

स्थानीयहरूले काठको एउटा लाप्को लगाए पनि सानो र हिँड्न साँघुरो लाप्को भएकाले तीर्थयात्रुहरू नदीमा खसेका थिए।

छायानाथ रारा नगरपलिका वडा न १, १०, ११ र १२ बस्तिहरू र सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका यहि खोला भएर आवत जावत गर्ने गर्छन्।

सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउँका युवाहरू,नेपाल प्रहरी,नगर प्रहरीले उद्दार गरेका थिए। उद्दार गरिएका मध्य ३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार गरिएको छ।

छायानाथबाट फर्कदै गरेका तिर्थ यात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जना तीर्थ यात्रुको विहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउँका युवा रामराज मल्लसहित अन्य युवा तथा प्रहरीहरूले उद्दार गर्दै गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सन्जालमा भाइरल हुँदा सरकारको चर्को आलोचना भएको थियो। 

खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्द राज मल्ल, धर्मराज बिक, बिष्णु विक, सञ्जु विक, पिउली सरा विक र एक जना नाम नखुलेका अर्का युवासहित आठ जना गमगाढ खोलामा खसेका थिए।

भदौ ४, २०८१ बुधबार ०९:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।