बंगलादेशबाट यूएई सर्यो महिला टी-२० विश्वकप
काठमाडौं : अक्टोबरमा हुने नवौं संस्करणको आईसीसी महिला टी-२० विश्वकप २०२४ अब यूएईमा हुने भएको छ।
बंगलादेशमा भएको राजनीतिक उथलपुथलका कारण सुरक्षालाई कारण देखाउँदै आईसीसीले महिला टी-२० विश्वकपलाई युएईमा सार्ने निर्णय गरेको हो।
यद्यपि प्रतियोगिता भने बंगलादेश क्रिकेट बोर्डले नै आयोजना गर्नेछ। १० टोली सहभागी प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म युएईका दुबई र शारजाहका दुई स्थानमा हुनेछ।
आईसीसीका प्रमुख कार्यकारी जियोफ एलार्डिसले एक विज्ञप्तिमा भने, ‘बंगलादेशमा महिला टी-२० विश्वकप आयोजना गर्न नपाउनु दु:खद् विषय हो। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गरेको हामीलाज्ञ अझै स्मरण छ।’
उनले बंगलादेशमा छिट्टै आईसीसी ग्लोबल इभेन्ट लैजाने समेत आश्वासन दिएका छन्।
सहभागी टोलीका सरकारले बंगलादेशमा यात्रा नगर्न भन्दै ट्राभल एडभाइजरी जारी गरेपछि आईसीसीले महिला टी-२० विश्वकपलाई यूएईमा सारेको हो।
यूएई हालका वर्षहरूमा क्रिकेटका लागि महत्त्वपूर्ण हब बनेको छ। अधिकांश क्वालिफायर प्रतियोगिताहरू यूएईमा हुँदै आएको छ। यसअघि सन् २०२१ को आईसीसी पुरुष टी-२० विश्वकप समेत यूएईले ओमानसँग संयुक्त आयोजना गरेको थियो।
भदौ ४, २०८१ बुधबार ०८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।