श्रीलङ्का बङ्गलादेशसँग हारेपछि नेपाल पुग्यो सेमिफाइनलमा, बङ्गलादेश प्रतिद्वन्द्वी

श्रीलङ्का बङ्गलादेशसँग हारेपछि नेपाल पुग्यो सेमिफाइनलमा, बङ्गलादेश प्रतिद्वन्द्वी

काठमाडौँ : यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मङ्गलवार भएको खेलमा समूह ‘ए’ मा रहेको श्रीलङ्का बङ्गलादेशसँग ०–२ गोल अन्तरले पराजित भएपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।

यसअघि नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट शीर्ष तीन अङ्क जोडेको थियो। पछिल्लो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ।

बङ्गलादेशको जितमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले समान एक एक गोल गरे। खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो। त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बङ्गलादेशको जित पक्का गरे।

समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल भदौ ६ गते हुनेछ। यस्तै, प्रतियोगिताअन्तर्गत बुधवार माल्दिम्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ।

भदौ ३, २०८१ मंगलबार २१:५८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।