डाक्टर बलात्कार प्रकरण : सर्वोच्चले प्रहरीलाई सोध्यो 'बिहान भएको घटनाको रातिसम्म किन जाहेरी दर्ता भएन?'

डाक्टर बलात्कार प्रकरण : सर्वोच्चले प्रहरीलाई सोध्यो 'बिहान भएको घटनाको रातिसम्म किन जाहेरी दर्ता भएन?'

एजेन्सी : भारतको सर्वोच्च अदालतले चिकित्सकहरूका लागि हिंसामुक्त र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना बनाउन मंगलबार १० सदस्यीय कार्यदल गठन गरेको छ।

कोलकातामा दुई हप्ताअघि भएको एक चिकित्सकको बलात्कार र हत्या प्रकरणपछि चिकित्सकहरूले देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन्। 

सर्वोच्च अदालतले कार्यदललाई तीन हप्ताभित्र अन्तरिम प्रतिवेदन र दुई महिनाभित्र अन्तिम प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। 

सर्वोच्चले केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई बलात्कारको घटनाको अनुसन्धान रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ। पश्चिम बङ्गाल सरकारलाई अगस्त १५ मा आरजी कर अस्पतालमा भएको आक्रमणको विषयमा पनि विस्तृत विवरण पेश गर्न आदेश दिएको छ।

सुनुवाइको क्रममा भारतका मुख्य न्यायाधीश डीवाई चन्द्रचुडले भने, 'कोलकाताको घटनाले देशभरका चिकित्सकको सुरक्षामा प्रश्न खडा गरेको छ। कोलकाता बलात्कार पीडितको नाम, फोटो र भिडियो क्लिप भारतभर प्रकाशित भइरहेकोमा हामी चिन्तित छौँ। कानूनले पीडितको नाम प्रकाशित गर्न निषेध गर्दछ।'

सर्वोच्चले बिहानको समयमा भएको घटनाको राति अबेरसम्म कुनै पनि जाहेरी दर्ता नभएको भन्दै कोलकाता प्रहरीमाथि पनि प्रश्न उठाएको छ। 

'हामी एक राष्ट्रिय कार्यदलको गठन गर्दैछौँ। उनीहरूले चिकित्सकहरूका लागि हिंसामुक्त र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने राष्ट्रिय कार्ययोजना तयार पार्नेछन्', मुख्य न्यायाधीश डीवाई चन्द्रचुडले बताए।  

भदौ ३, २०८१ मंगलबार २१:५२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।