भारतमा मात्र रहेको विश्वास गरिएको लोपोन्मुख माछा कोशीमा भेटियो

भारतमा मात्र रहेको विश्वास गरिएको लोपोन्मुख माछा कोशीमा भेटियो

मोरङ : भारतमा मात्र पाइने लोपोन्मुख क्याटफिस समूहमा पर्ने वैज्ञानिक नाम एमब्लिसेम्पस् अरुणाचलेन्स् नामक माछा नेपालको कोशीमा फेला परेको छ। नेपाल चिनिया अनुसन्धान टोलीले सो प्रजातीको माछा नेपालमा समेत रहेको तथ्य फेला पारेको हो।

कोशी नदीमा भेटिएको सो माछा विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको दाबी गरिएको छ। अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले पुष्टि गरेका हुन्।

पाँच जना नेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरू वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगस्टमा सोसम्बन्धी लेख प्रकाशित छ।    

अनुसन्धानकर्ता जसहाङ लिम्बूका अनुसार माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमुना सङ्कलन गरिएको थियो। सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा बिस्तारै बगिरहेको पानीमा भेटिएको उनले बताए।

यसको बाहिरी तथा आणविक बनावटका साथै वंश वृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको उनले बताए।

सो समूहले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमुना सङ्कलन गरेका थिए। उक्त नमुनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो।    
    
अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताए।  नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम इरेथिस्टेस सिकुला हो। यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो। यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उनले जानकारी दिए।

उक्त सिकुला माछालाई पनि आइयुसिएनले ‘तथ्याङ्क अभाव’ भएको सूचीमा राखेको छ। यी दुवै माछा कोशी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उनले बताए।
    
अनुसन्धानकर्ता लिम्बूका अनुसार दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइएको थियो। अनुसन्धानकर्ता अधिकारीले लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताए।

उनका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ। अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो।    

एक दशक अघि नेपालमा पाइने भनेर लेखिएका प्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ।    

तथ्याङ्कअनुसार नेपालमा पाइने माछामध्ये यस अघिसम्म तीन वटा प्रजाति अति सङ्कटापन्न र शहर माछा सङ्कटापन्नको सूचीमा थियो। अब एम्ब्लिसेप्स अरुणाचलेन्स् पनि सङ्कटापन्नको सूचीमा थपिएको छ।   

विवेक मिश्र/रासस     

भदौ ३, २०८१ मंगलबार २१:४३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।