काठमाडौंमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा किन मनाउन थाले लैंगिक अल्पसङ्ख्यक समुदायले?
काठमाडौं : सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ।
गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका छन्।
पुरुष र महिला भन्दा आफूलाई भिन्न पहिचानमा चिनाउनेहरू आफू अनुकूलका भेषभूषामा स्वतन्त्रपूर्वक सडकमा निस्कन थालेका छन्। सन् २००३ मा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उत्सवको रूपमा मनाउन सुरू गरेका थिए।
पन्तकै नेतृत्वमा चितवन, पोखरालगायतका सहरमा समुदायका सदस्यहरू सहभागी भएर गाईजात्रा पर्व मनाउँदै आएका थिए। त्यसपछिका वर्षमा भने गाईजात्रा पर्व काठमाडौंमा मात्र सीमित भएको छ।
काठमाडौंको पनि ठमेलदेखि वसन्तपुरसम्म र्याली निकाल्ने, मैनबत्ती बाल्ने, नाचगान हुने गरेकोमा गत वर्षदेखि कीर्तिपुरमा पनि समलिङ्गी तेस्रो लिङ्गीहरूले गाईजात्रा उत्सव मनाउन थालेका छन्।
यस वर्ष पनि राज्यका निकायमा सहभागिता सुनिश्चित गर्न माग गर्दै कीर्तिपुरको बाघभैरवदेखि उमामहेश्वर मन्दिरसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई गाईजात्रा मनाए।
यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट यस समूदायका व्यक्तिहरू भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि गौरव यात्रा गरे।
त्यस क्रममा उनीहरूले तेस्रोलिङ्गीलाई नबुझेर बलात्कार गरेर फालिदिएको घटना अहिले पनि भइरहेको सुनाए। तेस्रोलिङ्गी व्यक्तिहरूले आफ्नो ज्यान जोखिममा पारेरै अहिलेसम्म समाजको अगाडि खुलेर आएको बताए।
तर, पनि सरकारी निकायले नबुझेकोमा धेरै दुख लागिरहेको तेस्रोलिङ्गी अधिकारकर्मी दीपक महर्जनले बताए।
‘समाजले पनि बुझ्नु पर्छ, सरकारले पनि बुझ्नुपर्छ। समाजले बुझे सरकारले बुझ्छ, सरकारले बुझे राष्ट्रले बुझ्छ,’ समर्पण सभ्य समाज नेपालका सचिव समेत रहेका महर्जनले भने, ‘राष्ट्रले बुझे अन्तर्राष्ट्रले बुझ्छ भन्ने हाम्रो सोच छ।’
समाज र छरछिमेकको डरले तेस्रोलिङ्गी भनेर ढुक्ककासाथ अगाडि आउन गाह्रो परिरहेको उनको भनाइ छ।
‘तपाईँहरूले हाम्रो पहिचानलाई बुझ्नुपर्छ। हामी जस्ता व्यक्तिहरूलाई बुझेर कदर गर्नुपर्छ,’ उनले भने, ‘मलाई घरपरिवारले स्वीकारेका कारण ढुक्क भएर तेस्रोलिङ्गी भनेर हिँड्न पाइरहेको छु।’
पर्यटकीय क्षेत्र बन्दै गरेको कीर्तिपुरमा समर्पण सभ्य समाज नेपाल र मायाको पहिचान नेपालले संयुक्त रूपमा गाईजात्रा उत्सव मनाए। समर्पण सभ्य समाज नेपालले तेस्रोलिङ्गी सन्तानका बालबालिकाको शिक्षामा काम गर्दै आएको छ भने मायाको पहिचान नेपाल दक्षिण एसियामै पहिलो इन्द्रेणी विवाह कानूनी रूपमा दर्ता गर्न सफल भएको छ।
माया गुरुङ्ग र सुरेन्द्र पाण्डे समलिङ्गी तेस्रोलिङ्गीको विवाह कानूनी रूपमा दर्ता गर्ने दक्षिण एसिया जगाउने दम्पती बनेका छन्। अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राजनीतिक समावेशिताका लागि समाजमा सचेतना फैलाउने सन्देश लिएर गाईजात्रा उत्सवमा सहभागी भएको मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले बताए।
‘सरकारले सम्बोधन गरेको छैन, राजनीतिक, शैक्षिक, स्वास्थ्यका हिसाबले पछाडि पर्नु परेको छ,’ उनले भने, ‘राजनीतिक समावेशीताका लागि समाजमा उनीहरूलाई सभ्य रूपमा सचेतना फैलाउने सन्देश पनि बोकेर आएका छौँ।’
रोजगारी नपाउँदा पेट पाल्नका लागि देहव्यापार गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
'परिवार र देशमा स्विकार्यताको अभाव, रात्रिकालीन र दिवाकालीन कामको अभावले आफ्नो पेट पाल्नका लागि देहव्यापार गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘उहाँहरूलाई यस्ता किसिमका गतिविधिबाट विस्थापित गरेर सकारात्मक कामहरूमा स्थापित गर्नका लागि र जनजनमा हरेक व्यक्तिहरूलाई घरपरिवारदेखि अन्तर्राष्ट्रिय स्तरमा पनि यो समुदायका साथीहरू एउटा मानवीय व्यक्तिहरू हुन भन्ने सचेतना फैलाउनका लागि गाईजात्रा पर्व यहाँहरूसँगै मनाइरहेका छौँ।’
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले आफ्नो समुदायको व्यक्तिहरू दिवङ्गतहुँदासम्म उनीहरूको परिवारहरूले नहेर्ने अवस्था रहेको भन्दै नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गतहुँदा श्रद्धासुमनस्वरुप घरबाट गाईजात्रा निकालेजस्तै आफ्नो समुदायको दिवङ्गतहरुको श्रद्धा सुमनको लागि गाईजात्रा मनाउन सुरू गरेको जानकारी दिइन्।
उनले भनिन्, ‘समुदायको साथीहरू धेरै दिवङ्गत हुनुभयो। तर, उहाँहरूको आफ्नै परिवारले पनि दाहसंस्कार गर्न मान्नुभएन। त्यसैले नेपालमा नेवारी समुदायले आफ्नो परिवारको सदस्य दिवङ्गतहुँदा श्रद्धासुमनस्वरुप घरबाट गाईजात्रा निकाल्नुहुन्छ, त्यसरी समुदायका साथीहरू धेरै दिवङ्गत भएपछि समुदायले नसम्झिएपछि संस्थाले सम्झनुपर्छ भनेर गाईजात्रा मनाउन थालेका हौं।’
आजको गौरव यात्रामा सहभागी भएका महिला तथा बालबालिकामन्त्री नवलकिशोर सुडीले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको हकअधिकारको सवालमा आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘यो समुदायको जुन अधिकार छ त्यो त्यसका लागि मैले जे जति सहयोग गर्नुपर्छ, त्यसका लागि सरकारकोतर्फबाट पुरा गर्ने आश्वासन दिन चाहन्छु। अधिकारको लडाईमा सरकार साथमा छ।’
भदौ ३, २०८१ मंगलबार २१:०७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।