कांग्रेस-एमालेलाई माधवको प्रश्न : कहिल्यै बहसको कुरा नल्याउने अनि मध्यरातमा गएर हस्ताक्षर गर्ने?

कांग्रेस-एमालेलाई माधवको प्रश्न : कहिल्यै बहसको कुरा नल्याउने अनि मध्यरातमा गएर हस्ताक्षर गर्ने?

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा जबसम्म स्वच्छता हुँदैन तबसम्म जनताको निम्ति केही गर्न नसकिने बताएका छन्।  

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताए। 

उनले भने, ‘राजनीतिमा निष्ठा र नैतिकताको विषय छ। तर, जबसम्म हामीमा स्वच्छ आचरण हुँदैन, स्वच्छता हुँदैन, निष्ठा हुँदैन, समर्पण हुँदैन र नैतिक आचरणले स्वच्छता पाउँदैन तबसम्म जनता र देशको निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौं।’

गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने भन्दै उनले मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर देशमा केही नहुने जिकिर गरे।

उनले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ। सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ। मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन। खुला बहसको कुरा गर्नुपर्छ। कहिल्यै बहसको कुरा नल्याउने अनि मध्यरातमा गएर हस्ताक्षर गर्ने? मलाई यो कुरा गर्न मन थिएन तर यहाँ सन्दर्भ आयो।’

उनीपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान शंसोधनको विषयमा कसैलाई शंका नगर्न आग्रह गरे। 

देउवाले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ। हामीले संविधान संशोधन भनेका छौं। त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ। अरू पार्टीको खिलाप हुँदै होइन। यो सोच/विचार नै गरिएको सहमति हो।’

भदौ ३, २०८१ मंगलबार १९:१६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।