देउवाले ३२ बर्षअघि लगेको पुस्तक फिर्ता नगरेको आरोप, जबाफमा देउवा भन्छन् 'मलाई सम्झना छैन'

देउवाले ३२ बर्षअघि लगेको पुस्तक फिर्ता नगरेको आरोप, जबाफमा देउवा भन्छन् 'मलाई सम्झना छैन'

काठमाडौं : मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३२ बर्षअघि लगेको एउटा पुस्तक फिर्ता नगरेको विषयले चर्चा पाएको छ।

काठमाडौंको बत्तीपुतलीमा आयोजित स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृति सभामा अभियन्ता भारती सिलवालले कांग्रेस सभापति देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेपछि अधिकांश वक्ताले सोही विषयलाई लिएर देउवाको व्यङ्ग्य गरे। 

पोखरेलले स्व. प्रदीप गिरिकी पत्नी भारतीले ३२ वर्षअघि देउवाले पुस्तक लगेपनि फिर्ता नगरेको आरोप लगाइन्। 

‘शेरबहादुरजीले मेरो लानुभएको त्यो कृष्णमुर्तिको किताब। उहाँ गृहमन्त्री पनि भइसक्नुभयो’, सिलवालले भनिन्, ‘पाँच चोटि प्रधानमन्त्री पनि भइसक्नुभयो। अझ छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ। तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन। म त्यो किताबको प्रतीक्षामा छु।’

त्यसपछि एमालेका महासचिव शंकर पोखरेलले भारती सिलवाल गिरिले कांग्रेसका सभापति देउवा पढ्ने व्यक्ति भएको सन्देश दिन खोजेको भन्दै व्यङ्ग्य गरे। 

उनले भने, '३२ वर्षपछि उहाँ (भारती)ले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो मलाई लागेन। त्यसले दुई सन्देश देखेको छु। एउटा नेपालका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो। दोस्रो कुरा, राजनीति गर्ने मान्छे पढ्नु पर्दछ जे.कृष्णमूर्तीको जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो।’

सिलवालले शेरबहादुर देउवाले आफ्नो अनुमतिविना किताब लगेको र अझैसम्म फिर्ता नदिएको बताएकी थिइन्। उनले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन्।

उनले भनिन्, ‘मेरो एउटा किताब जयकृष्णमूर्तिको हातमा लिएर जान थाल्नुभयो मेरो अनुमतिविना। के थियो त्यसको नाम याद छ शेरबहादुरजी तपाईंलाई?’

जबाफमा देउवाले अभियन्ता सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको बताए। 

‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन। किताबले मलाई फाइदा भएको होला। धन्यवाद दिन चाहन्छु’, देउवाले भने।  

भदौ ३, २०८१ मंगलबार १८:४६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।