चितवनको माझी-मुसहर बस्तीमा निःशुल्क खानेपानी सुविधा

चितवनको माझी-मुसहर बस्तीमा निःशुल्क खानेपानी सुविधा

काठमाडौं : चितवनको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी-मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ। 

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त साझेदारीमा सो बस्तीमा खानेपानीको धारा जडान गरिएको हो। 
    
आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बञ्चित २४ माझी मुसहर घरधुरीलाई खानेपानीको मिटरसहित धारा जडान गरिएको वडा नम्बर ७ का वडाध्यक्ष सजना महतोले जानकारी दिए। 

उनले वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५० प्रतिशत लगानी तथा नगरपालिकाबाट जडान सामग्रीको सहयोगमा धारा जडान गरिएको बताए। 

सीमान्तकृत माझी मुसहर समुदायको न्यूनतम् आवश्यकता पूरा गर्न वडा कार्यालय सधैँ प्रतिबद्ध रहने भन्दै उनले ७ वडामा दुई सय ५० धारा जोडिसकिएको र हाल २४ धारा जोडिएको जानकारी दिए। 

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले मुसहर समुदायको विकासको लागि सामुदायिक वनले धेरै कुरामा सहयोग गर्दै आएको भन्दै यहाँको बालबालिकालाई विद्यालयमा बालकक्षा सञ्चालन, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युत्को लागि मिटर बक्स जडान गरेको बताए। 

नगर प्रमुख प्रह्लाद सापकोटाले बेरोजगारको समस्या समाधान गर्नका निमित्त नगर प्रमुख उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यम गर्न मन लागेको व्यक्तिले बिना ब्याजको तीन लाखसम्म प्राप्त गर्नसक्ने बताए। 

खानेपानीमा पालिकाले एकमुष्ट अनुदान हालेको भन्दै उनले हाल मासिक ९० रूपैयाँ खानेपानीको शुल्क रहेको र माझी मुसहर बस्तीमा सो शुल्क घटाउनका लागि पहल गर्ने दाबी गरे।  

भदौ ३, २०८१ मंगलबार १६:२१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।