स्थानीय तहको उप-निर्वाचनमा सहभागी होला रास्वपा?

स्थानीय तहको उप-निर्वाचनमा सहभागी होला रास्वपा?

काठमाडौँ : जनमत अनि नागरिक उन्मुक्ति पार्टी स्थानीय तहदेखि केन्द्रसम्मको निर्वाचनमा सहभागीहुँदै केही स्थानमा निर्वाचित पनि भए। सानै संख्यामा किन नहोस्, उसका केन्द्रदेखि स्थानीय तहसम्मै जनप्रतिनिधि छन्।

तर, केन्द्रमा चौथो शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रबाहेक अन्य तहमा जनप्रतिनिधि छैनन्।

२०७९ को स्थानीय तह निर्वाचनमा पार्टी नै गठन भएको थिएन। गत मंसिर ४ मा सम्पन्न प्रदेश र केन्द्रको निर्वाचनमध्ये रास्वपा केन्द्रको निर्वाचनमा मात्र सहभागी भयो। यो बीचमा भएको प्रदेशको उप-निर्वाचनमा पनि रास्वपा सहभागी भएन।

अहिले प्रमुख, उप-प्रमुख अनि वडाध्यक्षहरुसहित गरेर ३५ स्थानीय तहका पदाधिकारी रिक्त छन्। ती सबैमा मंसिरमा उप-निर्वाचन गर्न सरकारलाई सिफारिस गरेर निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ।

यसमा काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकामा अध्यक्षको पदसम्म छ। जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बाजुराको स्वमीकार्तिक खापर गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष पद रिक्त छ। सात प्रदेशका २८ वडामा अध्यक्ष पद रिक्त छ। 

स्थानीय तहमा रिक्त रहेको पदहरुमा उप-निर्वाचन गराउन आयोग तयारीमा जुटेसँगै रास्वपा पनि स्थानीय तहको उप-निर्वाचनमा सहभागी हुने या नहुने भन्ने विषयमा औपचारिक छलफलमा जुटेको छ। पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले सार्वजनिक गरेको बुधबार बस्ने पार्टीको केन्द्रीय समितिको छलफलको एजेण्डामा स्थानीय तहको उप-निर्वाचन समेत उल्लेख छ।

रास्वपालाई पहिलो उप-निर्वाचन फाप्यो। केन्द्रमा एक सिट बढायो पनि। तर, इलामको उप-निर्वाचनमा भने नसोचेको धक्का पायो। त्यही बेलामा बझाङको क्षेत्र नम्बर १(१) प्रदेश सभाको रिक्त एक पदका लागि भएको उप-निर्वाचनमा उम्मेदवार नै उठाएन। त्यहाँ एमालेका उम्मेदवार निर्वाचित भए।

पार्टीका नेताहरूको धारणा प्रदेश संरचनाको विपक्षमा देखिए पनि रास्वपाले स्थानीय तहबारे भने अझैँ प्रष्ट धारणा सार्वजनिक गरेको छैन। प्रारम्भमा पार्टी गठनको आन्तरिक छलफलको चरणमा स्थानीय तहकै निर्वाचनबाट अगाडि बढ्ने कि भन्ने छलफल भएको थियो। 

पार्टी गठन अघिसम्म सभापति रवि लामिछाने काठमाडौँ महानगरपालिकाको मेयरकै रुपमा उम्मेदवार हुने तयारीमा थिए। तर, पार्टी गठनको छलफलै टुंगिएन। स्थानीय तहको निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ लगायतका स्वतन्त्र उम्मेदवारले जितेपछि त्यसैबाट हौसिएका लामिछाने पार्टी गठनमा अगाडि बढेका थिए।

भदौ ३, २०८१ मंगलबार १५:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।