ओलीलाई वर्षमानको सुझाव : शहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्

ओलीलाई वर्षमानको सुझाव : शहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्

रोल्पा : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले बंगलादेशको राजनीतिक हावा काठमाडौंमा चल्न थालेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत रहन सुझाव दिएका छन्।

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उपमहासचिव पुनले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी दिए।

‘बंगलादेशको राजनीतिक हावा काठमाडौंसहित देशका ठूला शहरमा चल्न थालिसक्यो,’ उनले भने, ‘हाम्रो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन दिनुस्।’

पुनले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी समेत गरे।

‘केपी ओलीले भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले थपे, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन्।’

आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस-एमालेबीच सहमति गरिएको आरोप उनले लगाए।

उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रूपमा कांग्रेस-एमालेबीच गठबन्धन गरेको आरोप लगाए।

पुनले थपे, ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी कांग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ। हामीलाई लागेको थियो उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होला। तर उनीहरू भ्रष्टचार, बेथिति र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन्।’

भदौ ३, २०८१ मंगलबार १२:०३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।