कोलकाता प्रकरण : डाक्टरले मृत्युको दिन लेखेर बुवालाई पठाएको डायरीको पाना गायब, पूर्व प्रअको मोबाइलबाट कल डिलेट डिलिट

कोलकाता प्रकरण : डाक्टरले मृत्युको दिन लेखेर बुवालाई पठाएको डायरीको पाना गायब, पूर्व प्रअको मोबाइलबाट कल डिलेट डिलिट

एजेन्सी : भारतको कोलकाताको आरजी कार मेडिकल कलेजमा ३१ वर्षीय प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या प्रकरणमा सीबीआईले मृतकको डायरीको एक पाना भेटेको छ। उक्त पानाले यस प्रकरणलाई झन् रहस्यमयी बनाएको छ।

मृतकका बुवाका अनुसार छोरीले दिनहुँ घटनाक्रम डायरीमा लेख्ने गर्थिन्। उनले घटनाको भएको दिन अर्थात अगस्ट ९ मा पनि डायरी लेखेको मृतककी बुवालाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ।

उक्त लेखेको एक पानाको फोटो मृतकले आफ्नो बुवालाई पठाएकी थिइन्। उक्त पानामा अस्पतालको अवस्था र आफ्ना दैनिक क्रियाकलापबारे लेखिएको मृतकका बुवाले बताएका छन्।

यसअघि प्रहरीले फेला पारेको डायरीबाट यो पाना हराएको थियो। मृतकका बुवाको बयान पछि सीबीआई टोली सोमबार दिउँसो उनको घर पुगेर त्यो पानाको तस्बिर लिएर फर्किएको थियो।

डायरीका धेरै महत्त्वपूर्ण पाना प्रहरीले नै च्यातेको आफूसँग प्रमाण भएको समेत मृतकका बुवाले आरोप लगाएका छन्।

अनुसन्धानको केन्द्रमा पूर्व प्रधानाध्यापक
यसैबीच घटनाको आरोपमा सिभिक स्वयंसेवी सञ्जय राई प्रहरी हिरासतमा रहे पनि अनुसन्धानको केन्द्रमा पूर्व प्रधानाध्यापक सन्दीप घोष रहेका छन्।

घटना हुनुभन्दा एक साताअघि सन्दीपले आफ्नो फोनको कल रेकर्ड र म्यासेज डिलिट गरेको स्रोतलाई उद्धृत गर्दै दैनिक भास्करले समाचारमा लेखेको छ। फोनबाट धेरै नम्बरहरू हटाइएको समेत फेला परेको छ। सीबीआईले अहिले यो फोनबाट डेटा रिस्टोर गर्दैछ।

घोषबाट सीबीआईले पाएन सात प्रश्नको जवाफ
सीबीआईले पूर्व प्रधानाध्यापक घोषसँग चार दिनदेखि सोधपुछ गरिरहे पनि उनले स्पष्ट जवाफ दिन सकिरहेका छैनन्।

घोषले शवको बारेमा जानकारी पाएपछि सेमिनार हलमा अन्य डाक्टर र कर्मचारीहरूलाई किन र कसरी प्रवेश गर्न दिएका थिए भन्नेबारे स्पष्टसँग बताएका छैनन्।

अनुसन्धानका क्रममा जानाजानी प्रमाण नष्ट गरेको पनि खुलेको छ। सेमिनार हलमा पुगेकाहरूले शव छुँदा कोठाका भएका धेरै प्रमाणहरू नष्ट भएका छन्। घोषलाई कोठामा गएका मानिसबारे सोध्दा उनले आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

प्रहरीलाई दुई घण्टा ढिलो किन खबर गरियो भन्नेबारेमा समेत उनले बताएका छैनन्।  यसैबीच, घटनाका सन्दर्भमा स्थानीय प्रहरीले अप्राकृतिक मृत्युको मुद्दा दर्ता नगरेकाले स्थानीय प्रहरी समेत सीबीआईको शंकाको घेरामा छ।

यो घोषको निर्देशनमा भएको हो वा होइन र सेमिनार हलको पर्खाल भत्किएपछि भोलिपल्ट मर्मतको काम कसरी सुरु भयो भन्ने सन्दर्भमा पनि सीबीआईले अनुसन्धान गरिरहेको छ।

भदौ ३, २०८१ मंगलबार १०:४६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।