नेपाल प्रिमियर लिगपछि एक वर्षका लागि त्रिवि क्रिकेट मैदान बन्द हुनसक्छ : सचिव खड्का

नेपाल प्रिमियर लिगपछि एक वर्षका लागि त्रिवि क्रिकेट मैदान बन्द हुनसक्छ : सचिव खड्का

काठमाडौं : नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगपछि त्रिवि क्रिकेट मैदान एक वर्षका लागि बन्द हुनसक्ने बताएका छन्।

सोमबार नेपाल प्रिमियर लिगको लोगो तथा मिति सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिगपछि त्रिवि क्रिकेट मैदान एक वर्षका लागि बन्द हुनसक्ने बताएका हुन्।

मैदानको स्तरोन्नतिका लागि सरकारको चासो देखाएको र आगामी तीन महिनामा सरकारी प्रक्रिया सकेपछि लिग सञ्चालन गरेर बन्द हुनसक्ने उनको भनाइ छ।

‘सरकारले नै टियु ग्राउन्ड बनाउँछु भन्दा एकदमै राम्रो पक्ष हो। सरकारी प्रक्रिया सबै सकिने बेलासम्म तीन महिनासम्म लाग्छ। हामीले नेपाल प्रिमियर लिग आयोजनाका उहाँहरूले ग्रिन सिग्नल दिनुभएको छ,’ उनले भने, ‘नेपाल प्रिमियर लिग आयोजना हुन्छ। त्यसपछि टियु ग्राउन्ड बन्द हुन पनि सक्छ। सरकारले स्वामित्व लिएर निर्माण गरेपछि अर्को संस्करणको नेपाल प्रिमियर लिगमा फ्लडलाइट र सवै पूर्वाधारसहित खुल्नेछ भन्ने हाम्रो विश्वास छ।’

सचिव खड्काले फ्रेन्चाइज खरिदमा देश तथा विदेशबाट राम्रो प्रतिक्रिया आएको बताउँदै कति वटा टिमले खेल्ने क्यानको बोर्ड बैठकले तय गर्ने जानकारी दिए।

उनले थपे, ‘अहिले अष्ट्रेलिया, बेलायत, अमेरिका, दुबई, भारत लगायतका देशबाट फ्रेन्चाइजी खरिदका लागि ठूलो ठूलो प्रस्तावहरू आएको छ। तर, पहिलो संस्करणमा भने नेपाली टिम मालिकहरुले नै सञ्चालन गर्नेछन्।’

सचिव खड्काले दोस्रो, तेस्रो र चौथो वर्षमा भने राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा सहभागी राम्रो फ्रेन्चाइजी टिमहरुलाई समेटेर अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

नयाँ कार्यसमिति आएर नेपाल प्रिमियर लिग आयोजनाको निर्णय गर्दा नेपालका प्रतिष्ठित व्यक्ति र संगठनले नेपाल क्रिकेटसँग जोडिन चाहना राखेको भन्दै उनले यसलाई आफूहरुले दीर्घकालीन सोचका साथ अगाडि बढाउने प्रयास गरिरहेको बताए।

विदेशी खेलाडीको सन्दर्भमा सचिव खड्काले जति राम्रो विदेशी खेलाडी आयो, त्यति नै लिगको ब्राण्ड भ्यालु बढ्ने बताए। त्यसका लागि पनि आफूहरूले लिगलाई एक महिना पछि सारेको उनको भनाइ छ।

एक महिनाअघि नै गर्दा मौसमका लागि धेरै राम्रो हुने भए पनि विदेशी लिग र त्यसका तालिकालाई समेत ध्यानमा राखेर मंसिर पुर्याइएको उनको भनाइ छ।

भदौ ३, २०८१ मंगलबार ०९:४३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।