दीपा-जितुको इगोको भुङ्ग्रोमा नमज्जाले फसे केदार उर्फ माग्ने बुढा
काठमाडौं : जितु नेपाल मनको साथी, दीपकराज गिरी र दीपाश्री निरौला धनका साथी। विचरा केदार घिमिरे (माग्ने बुढा)। न मनको साथी जितुलाई टाढा राख्न चाहन्छन्, न दीपक-दीपासँग निहुँ खोजेर अर्को ‘जितु’ बन्न चाहन्नन्। बढो मझधारमा छ यिनको यात्रा अहिले।
छक्कापन्जा ब्रान्ड दीपक-दीपाको मात्र हैन, केदार घिमिरेदेखि जितुसम्मको पनि हो। ‘छक्कापन्जा ३’ सम्म यी सँगै काम गर्थे। फिल्मले गरेको नाफा लगानी अनुसार बाँडीचुँडी लिन्थे।
मुन्द्रेको कमेडी क्लब सुरू गरेर बिचैमा दीपालाई निकाल्ने निर्णय बढो घामड बन्यो जितुका लागि। यसलाई दीपाले ‘व्यावसायिक’ नभइ इखको रूपमा लिँदा उनी छक्कापन्जा टिमबाटै बाहिरिए।
सार्वजनिक रूपमा दीपासँग भेट्दा होस् या दीपकसँग भेट्दा होस् बढो मायाप्रेम देखाए पनि यी मनैदेखि अलग भइसके। छक्कापन्जा टिममा जितु अटाउने सम्भावना देखिएको छैन। त्यसैले त ‘छक्कापन्जा ४’ मा उनी अटाएनन्। तर, केदारले सानो सिनमा भए पनि राख्न खोजे पनि सकेनन्।
केदार फिल्म निर्माण टिमकै सदस्यको रूपमा दीपक-दीपा समूहमा बसिराखे। यता जितुसँग पनि उनको सम्बन्ध चिसिएको देखिँदैन। तर, दीपक-दीपाको समूहबाट जितु जसरी निकालिने डरले व्यावसायिक सहकार्य नि गर्न सकेका छैनन्।
उता छक्कापन्जा ब्रान्ड जमेकै थियो। यता जितुको ब्रान्ड भने जमेन। कमेडी सो फ्लप भएर बन्दै भयो। बिचमा ‘ह्यारीकी प्यारी’ फिल्म पनि खेले। त्यो पनि फ्लप भयो। ‘ज्वाइँ साब’ नामको फिल्मको अफर आयो। खेले। फेरि यो फिल्मले आपत् ल्यायो।
यता दीपक, दीपा समूहले ‘छक्का पन्जा ५’ बनायो। केदार यो फिल्मको कार्यकारी निर्माता। फिल्ममा दीपक-दीपाको लगानी हुने नै भयो। उनीहरूले असोज २४ लाई रिलिज डेट तोके।
फ्याट्ट जितु मुख्य भूमिका भएको फिल्म ‘ज्वाइँ साब’ ले पनि त्यही दिन रिलिज डेट तोक्यो। अनि खरानीले छोपिएको फिलिङ्गोको राप बाहिर आएजसरी पुन: दीपा र जितुको पुरानो दुस्मनी पनि सतहमा आयो।
‘छक्कापन्जा’ र ‘ज्वाइँ साब’मा फरक के भने केदार, दीपक त दीपा नै त्यसको कलाकार मात्र हैनन् निर्णायक पनि हुन्। तर यता ‘ज्वाइँ साब’मा जितु कलाकार मात्र हुन्। निर्माता त राजकुमार पुडासैनी हुन्। फिल्म नै जुधेपछि भने अपजस जितुले पाए।
अनि केदार ‘माग्ने बुढा’ले फेसबुकमा लेखे, ‘हास्य कलाकारहरूका बिचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन। यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ।’
दुवै पक्ष फिल्म नजुधाउने पक्षमा देखियो यसले। फेरि बिचमा अर्को फिल्म ‘१२ गाउँ’ले पनि यही मिति रिलिजको घोषणा गर्यो।
तै पनि केदारले जितुमार्फत निर्माण टिमसँग छलफल गरेर रिलिज डेट हेरफेर गराउँछन् कि भन्ने आशका बीच उनले त फेसबुकबाट संवादबाट हल गर्ने धारणै मेटाए। यसले अब दुवै फिल्मको निर्माण टिमबीच रिलिज डेटको विषय इगो भएको सङ्केत देखिन्छ।
उता छक्कापन्जा टिममा मारमा परे केदार। यता मारमा परे जितु।
दीपक-दीपालाई लाग्न सक्छ झड्का
प्रारम्भमा फिल्म निर्माणमा अलग-अलग हास्य टेलिशृङ्खलाबाट दर्शकमाझ क्रेज बनाएका कलाकारहरू मिलेर फिल्मको प्रोजेक्ट बनाएका थिए। टेलिशृङ्खला अलग-अलग भए पनि संयुक्त प्रोजेक्टको रूपमा फिल्ममा सबै जोडिए।
यता दीपक-दीपा, अर्कोतिरबाट सीताराम कट्टेल धुर्मुस, केदार, शिवहरि पौडेल, निर्मल शर्मा अनि जितु नि जोडिए। पात्र निर्माण लगायतमा दीपक-दीपा हाबी भएपछि धुर्मुस, शिवहरि, निर्मल हुँदै जितुसम्म बाहिरिए। केदार बसिरहे।
निर्मल शर्मा गैंडा भने फेरि टिममा फर्किसके पनि अन्य हास्य कलाकार भने दीपक-दिपा टिममा फर्किएका छैनन्।
जो-जो टिमबाट निस्किए पनि अहिलेसम्म दीपक-दीपा झड्का लाग्नबाट जोगिएका छन्। तर यसपालि रिलिज मिति जुध्दा नै छक्कापन्जा टिम डराएको देखियो।
‘ज्वाइँ साब’ टिम प्रमोसनमा उत्रिएकै छैन। छक्कापन्जाले प्रमोसन गीत सार्वजनिक गर्यो। तर गीतको बोलको ‘बिहे गर्या छैन, कुमारी नि हैन' भन्ने शब्दले प्रमोसन नभई डिमोर्सन गरिदियो।
दीपक-दीपा नै रक्षात्मक हुन बाध्य भए। गीतको शब्द मात्रै हैन गीत अनि म्युजिक भिडियोको क्वालिटीले नि धोका दियो। यसकै बलमा फिल्मले हाइप बनाउन कठिन छ। उता ‘ज्वाइँ साब’ ले भने छक्कापन्जासँग रिलिज मिति जुधाएरै माइलेज पाइराख्या छ।
फिल्म चलाउने जुक्ती निकाल्न माहिर दीपकको दिमाग यस्तो बेलामा सुस्त त पक्कै भएको छैन। प्रमोसनका लागि दोस्रो हतियार बनाउन नि सक्छन्।
फिल्म जे सुकै होस्, कलाकार केदार भने नमज्जाले बिचमा फसे। जितु छानौँ धनको स्रोत रिसाउने डर, दीपा-दीपक छानौँ मनको साथीले चित्त दुखाउने डर।
भदौ ४, २०८१ मंगलबार ०२:१०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।