सन्चै रहेका प्रधानमन्त्री ओलीलाई क्यान अध्यक्ष चतुरले बिरामी बनाइदिए

काठमाडौँ : रक्षा बन्धन लगाउनेदेखि लिएर महिला भलिबल टिमसँग अन्तर्क्रिया गरेको कार्यक्रमसम्म स्वस्थ देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकाएक सोमबार साँझ क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष चतुरबहादुर चन्दले बिरामी बनाइदिएको खुलेको छ।
नेपाल प्रिमियर लिगको लोगो र प्रतियोगिता सुरु हुने मिति घोषणाको कार्यक्रमको ‘आकर्षण’ बढाउन आयोजकले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रमुख अतिथि बनाए पनि सञ्चारकर्मी अनि कार्यक्रमका अतिथिबिच भने प्रधानमन्त्री केपी ओली नै आउने भनेर हल्ला गरेका थिए।
क्यान पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई कार्यक्रमको निमन्त्रणा भने दिएका थिए। तर प्रधानमन्त्रीबाट कार्यक्रममा उपस्थित हुने निश्चित गरेका थिएनन्।
प्रधानमन्त्री सचिवालयस्रोतका अनुसार उनको सोमबारको कार्यक्रमको सेड्युलमा एनपिएलको लोगो सार्वजनिक गर्न जाने कार्यक्रम परेको पनि थिएन। उनी सन्चै थिए। कार्यक्रमै नभएकाले उनी सोल्टीको कार्यक्रममा जाँदा पनि गएनन्।
तर क्यानका पदाधिकारीले पहिला कार्यक्रमस्थलमै प्रमुख अतिथि प्रधानमन्त्री ओली नै आउने भनेर माइकिङ गराएर कार्यक्रम ढिला गरे। अनि पछि स्वास्थ्यका कारण प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित नभएको भन्दै ढाँटे।
भदौ ३, २०८१ सोमबार २३:१३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।