आरजु-मोदी भेटमा भएको विविध बहुआयामिक विषयको छलफल के हो?

आरजु-मोदी भेटमा भएको विविध बहुआयामिक विषयको छलफल के हो?

काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भयो। सोमबार भएको भेटमा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको दाबी गरिएको छ।

दुवैको भेटमा भएका छलफलका मुख्य विषय सार्वजनिक भएको छैन। भारतस्थित नेपाली दूतावासले भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर दिएको दाबी गरेको छ।

राणाले ट्विट गर्दै नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उल्लेख गरेकी छिन्।

मन्त्री राणाले सोमबारै भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको दाबी गरिएको थियो।    
    
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि राणा आइतबार नयाँ दिल्ली पुगेकी थिइन्। उनी भदौ ६ गते स्वदेश फर्किने भ्रमण तालिका रहेको छ।

भदौ २, २०८१ सोमबार २२:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।