आफू इलेक्ट्रिक मेकानिक भएर छोरालाई फार्मेसी पढाएका आलमलाई लाग्छ ‘पैसा कि रेन्चमा छ कि सिरिन्जमा’
सिरहाको मिर्चेया बजारमा आलम मिँया आफ्नै जन्ममिति लखसमेत काट्न सक्दैनन्। उमेरले ५० कटेको अनुमान मात्रै गर्छन् उनी।
उनी १८ बर्षको उमेरमा काठमाडौँ छिरेका थिए। अहिले हाडीगाँउको ओरालोमा एन.के इलेक्ट्रिकल पसल खोलेका छन्। उनले पसलको नाम आमा नजमा खातुनको नामबाट जुराए र राखे एन.के। उनी बिग्रिएको पानी तान्ने मोटर, पंखा लगायतको इलेक्ट्रोनिक सामान मर्मत गर्छन्।
मुस्लिम परिवारमा जन्मिएका आलमले नाजुक आर्थिक अवस्थाका कारण एसएलसीपछिको पढाइ अघि बढाउन पाएनन्। एसएलसी सम्मको पढाई पनि अहिलेको जस्तो प्रशस्त समय निकालेर पढ्न पाएनन्। पढाईसँगै उनले मजदुरी पनि गरे। खेतीपातीको काममा बाबुलाई सघाउनेदेखी बालुवा, ईट्टा बोकेर पढेको सम्झन्छन् आलम।
‘पहिलाको दुख सम्झिँदा आँसु आउँछ। अहिले त बच्चाहरुले पढाई मात्रै गर भन्दा पढ्दैनन् पहिला मैले विहानभरी कहिले कमाएका खेतमा काम गर्नुपर्यो भने कहिले ढुंगा, बालुवा बोक्न समेत जान्थेँ। कति दुख थियो त्यो बेला, अहिले त के छ र?’ उनी भन्छन्।
कक्षा ११ मा भर्ना भए तर पैसा नहुँदा पढाई अगाडि बढेन। अनि उनी कामको खोजीमा काठमाडौँ आए। आलमले मुस्लिम धर्म अनुसारको शिक्षा समेत लिए। सानैमा बाबुले उनलाई मदरसामा पढाएका थिए। २ बर्ष पढेपछि उनलाई बुबाले औपचारिक शिक्षा लिन स्कुल भर्ना गरिदिए।
‘हाम्रो धर्ममा नवाज पढ्नको लागि भए पनि उर्दुपनि जान्नुपर्ने हुन्छ, मैले २ बर्ष मदरसा पढें। अनि महेन्द्र माविमा बाबुले भर्ना गरिदिनुभएको थियो’ उनी सम्झन्छन्।
१० हजार लगानीमा काम सुरू
गरिबीको कारण पढ्न नपाएपछि आलम २०४६ मा काठमाडौँ आए। त्यसबेला उनी १८/१९ वर्षका थिए। फुपाजुको पछि लागेर काठमाडौँ आएका थिए। फुपाजुको सोह्रखुट्टेमा अहिले आलमले गरिरहेको जस्तै इलेक्ट्रोनिक्स पसल थियो। त्यहीँबाट उनले ३ महिना लगाएर काम सिकेका रहेछन्। तर, काम सिक्दा कुटाइ खाएको पनि उनी सम्झिन्छन्।
‘हामी काम गर्ने ४/५ जना थियौं। हाम्रो गुरुजी बनेपाका थिए। काम सिक्दा कुनै बिग्रियो भने गुरुजी एउटा कुनामा छन् भने हामी अर्काे कुनामा जान्थ्यौं, डरले। फुपाजुले बरू जति कुटे पनि मलाई मतलव छैन तर, मेरो छोराले काम सिक्नुपर्यो भन्थे’ उनले भने।
आलमले फुपाजुकोमा रहेर ३ बर्ष काम गरे। काम सिकेपछि मात्र उनको तलब आयो, सय रूपैँया। खानाको पैसा पर्दैनथ्यो। फुपाजुकै डेरामा बसेर खान्थे। पहिलोपटक ५ महिनामा ५ सय तलब बनाएर घरमा पठाएका थिए उनले।
पहिलाको बजार भाउ अहिले जस्तो अचाक्ली थिएन। उनलाई त्यो बेलाको केही सामानको बजार भाउसमेत याद छ।
‘त्यो बेला काठमाडौँ आउँदा ५० पैसामा चिया, २० पैसामा चुरोट पाउँथ्यो। राँगाको मासु ४० रूपैँया केजी थियो। कुखुराको मासु ३५ रूपैँया थियो। मलाई फुपाजुले २० रूपैँया दिएर राँगाको मासु ल्याउन भन्थे। अहिले त काँ हो काँ,' उनले सम्झिए।
उनले काम सिक्दा हप्तामा ५ रूपैँया पाउने रहेछन्। तर, पनि आफ्नै फुपाजुसँग पैसा मागौँ कि नमागौँ हुन्थ्यो रे। कहिलेकाही मन लागेको कुरा बाहिर खान भएपनि उनी आँट गरेर ५ रूपैँया माग्ने गर्थे।
आलमले आफूले काम सिकेको समय र अहिलेको समयमा निकै फरक पाउँछन्। हप्तामा ५ रूपैँयाको लागि संघर्ष गरेका आलम अहिले काम सिक्न आउने केटाहरूलाई दिनको सय रूपैँया दिन्छु, सुरुमै तलब दिन्छु भन्दा पनि नबसेपछि काम सिकाउने केटा राखेका छैनन्।
‘आजकलका केटाहरूलाई दिनको सय रूपैँया दिन्छु, तलब दिन्छु, ३ टाइम खाने व्यवस्था हुन्छ भन्दा पनि आउँदैनन्। अहिले केटाहरूलाई सहयोगी मात्रै राख्यो भने पनि दिनको मोबाइल खर्च सय रूपैँया दिनुपर्छ। पैला हामी जति गाली गरेपनि सहेर बस्थियो। आजकलका केटाहरूलाई यो भएन, त्यो भएन भन्यो भने रिसाएर भाग्छन्। पहिला सहनशिलता थियो तर अहिले छैन,’ उनले सुनाए।
....अनि आफ्नै गरें
काठमाडौँ आएको ३ बर्षपछि आलमका फुपाजु बिते। त्यसपछि आलमले केही महिना त्यहीं काम गरे। पछि साझेदारीमा गर्ने योजना बनाए अनि पार्टनर पनि पाए। आफैंले गरेअनुसारको पैसा पनि कमाउन थालेका थिए। तर, पार्टनर काम नगर्ने, पैसा उठाएर लग्ने गरेपछि आलम दिक्क भएर पार्टनरलाई नै पसल जिम्मा लगाएर एक्लै सुरू गरे।
‘अर्काे एकजना साथीसँग मिलेर पसल खोले। मसँग त पैसा थिएन। मैले काम मात्रै जानेको थियो। त्यो बेला राम्रो पैसा कमाएको थियो। तर जति पैसा कमाएपनि साथीले पैसा बोकेर हिँड्थ्यो। त्यो गरेपछि हाम्रो पार्टनरी छुट्यो,’ उनले भने।
त्यसपछि आलमले आफैंले १० हजार जम्मा पारेका रहेछन्, त्यसैबाट आवश्यक सामाग्री किने र सुरुमा चुच्चेपाटीमा पसल चलाए। तर, घरबेटीलाई ऋण लागेर घर बेचिदिएछन्। त्यसपछि अर्काे घरबेटीले पसल छोड्न भनेपछि उनी हाडीगाउँ आए। अनि त यो घरमा २५ बर्षभन्दा बढी बसे।
गरिबीले पढ्न पाएनन्, छोराछोरीलाई जति भन्छन् त्यति पढाउने सपना
आलमका बाबु अरूको खेती गरेर ८ जनाको परिवार पाल्दै थिए। गाउँमा धनीमानीका छोराछोरी पढ्न थालेपछि उनका बाबुले पनि छोराहरूलाई स्कुल भर्ना गरिदिएका थिए। तर परिवारका अन्य सदस्यले १० सम्म पनि पढ्न पाएनन्। उनले एसएसलीसम्म पढ्न पाए।
११ कक्षामा भर्ना पनि भएका थिए। तर पैसा नभएपछि रहर हुँदाहुँदाहुँदै उनको पढाई छुट्यो। तर आलमलाई एसएलसी पास भएको मिति समेत सम्झना रहेनछ। तर, स्कुल पढ्दा भोगेको दुख भने सम्झना रहेछ। उनी पढ्दा स्कुलमा बस्ने कुर्सी रहेनछ। त्यतिबेला सबैले घरबाट बोरा बोकेर पढ्न जाने गर्थे।
‘अहिलेको जस्तो काँ बस्ने व्यवस्था थियो र, एउटा काखीमा किताब, कापी एउटा काखीमा बोरा बोकेर जानुपर्थ्यो। अझै जाडोमा कति गाह्रो हुन्थ्यो त्यही पनि एलएलसीसम्म पढें, उनले सुनाए।
आलमलाई पढ्न मन नभएको होइन तर घरको परिस्थितिले उनलाई काठमाडौँ ल्यायो। पढ्न नपाएको दुख अहिलेसम्म लाग्छ उनलाई। त्यसैले आलमले इलेक्ट्रिोनिक पसलबाट कमाएकै पैसाले ३ छोराछोरीलाई पढाए। जेठी छोरीलाई उनले एसएलसीसँम्म पठाए। एसएलसी पास भएपछि उनले नै पढ्न मन नगरेपछि विवाह गरिदिए। एक छोरी अहिले ९ कक्षामा पढ्दैछिन्। अनि छोरालाई भारतको देहरादुनमा राखेर फार्मेसी पढाएका छन्।
‘जेठी छोरीलाई एसएलसीसम्म पढाएँ, छोरालाई देहरादुनमा राखेर पढाएको छु। एउटी छोरी हामीसँग छे। अहिले ९ कक्षामा पढ्दैछिन्', उनले भने।
उनले दुख गरेर जति कमाए त्यो छोराछोरीकै शिक्षामा खर्च गरे। सन्तानको शिक्षामा पैसा खर्च गर्दा दुख लाग्दैन उनलाई। उनको इच्छा छ, जतिसम्म पढ्न इच्छा छ पढुन्।
‘मैले गरिबीको कारण पढ्न पाइँन, छोराछोरीलाई जति भन्छन् त्यति पढाउने हो। मैले छोरालाई फार्मेसी पढाउनुको कारण पनि छ’ उनले भने, ‘पैसा दुई वटामा छ- कि रेन्चमा छ कि त सिरिन्जमा छ। डाक्टरले जे भन्छ तपाईंले मान्नुपर्छ, मानेन भने कुनै उपाय छैन। मेकानिकले जे भन्छ त्यो मान्नुपर्छ नत्र बन्दैन।’
कहिल्यै बन्द नभएको पसल
देशमा राजनीतिक आन्दोलनको दौरान पनि आलमको पसल भने कहिल्यै बन्द भएन। मधेश आन्दोलन, कोभिडकाल, राजा वीरेन्द्रको वंशनाश हुँदा होस् वा इराकमा १२ जना नेपालीको हत्या हुँदा, उनको पसल बन्द भएन। अनि राजनीतिक आन्दोलनको बेलामा उनले काठमाडौँबाट विस्थापित भएर गाउँ जानु पनि परेन।
‘इराकमा १२ जना मार्दा आन्दोलन भएको थियो, त्यो बेला पनि मैले पसल खोलेको थिएँ। आन्दोलन नरोकुन्जेलसम्म मैले पसल चाहिँ खोलिन। तर, डर भयो भनेर घर पनि गइँन। धेरै बर्षदेखि बसेको भएर होला, मलाई सबै स्थानीयले चिन्छन्। जबसम्म अल्लाहले केही लेख्दैन भने मान्छेले केही पनि बिगार्न सक्दैन,’ उनले भने।
त्यति मात्रै होइन, कोभिडको समयमा पनि उनी गाउँ गएनन्। पसल खोल्न नदिएको अवस्थामा उनले पार्कमा भएपनि काम गरे।
‘पानी तान्ने मेसिन भनेको काठमाडौँको लागि अति आवश्यक वस्तु हो। कोभिडको समयमा पनि मैले पसल खोलें। कहिलेकाही पुलिसहरूले पसल बन्द गर भन्थे। मैले पसल बन्द गरें तर, काम चाहिँ पार्कमा बसेर गरिदिन्थे,’ उनले पार्कतिर देखाउँदै भने।
अहिले आलमले सबैखर्च कटाएर महिनाको ५०/६० हजार कमाउँछन्। तर, छोराको पढाई सकेपछि भने काम नगर्ने विचार गरेका छन्।
‘अब बढीमा ५/६ बर्ष काम गर्छु। त्यसपछि गाउँमै गएर पसल राख्छु। कोहिले राम्रोसँग चलाए जिम्मा दिने विचार गरेको छु। उमेरले पनि ५० बढी भइसके अबको उमेर भनेको बसेर खाने हो। छोराछोरीले जे दिन्छन्, त्यही खाने,’ उनले भने।
भुईँमान्छेका यसअघिका अंक
भदौ ३, २०८१ सोमबार २१:१८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।