नेपाल प्रिमियर लिग मंसिर १५ बाट, म्याच फिक्सिङबाट जोगिनु मुख्य चुनौती

नेपाल प्रिमियर लिग मंसिर १५ बाट, म्याच फिक्सिङबाट जोगिनु मुख्य चुनौती

काठमाडौं : पहिलो सिजनकै प्रतियोगिता म्याच फिक्सिङको विवादमा पर्दै नेपाल टी-२० लिगको मुद्दा अदालतसम्म पुगेर बदनाम भएपछि क्रिकेट एशोसिएसन नेपालले आफैँले टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग’ को आयोजना गर्ने भएको छ। क्यानले मंसिर १५ गतेबाट लिगको आयोजना गर्न लागेको हो। 

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गरेर प्रतियोगिताको मिति घोषणा गरेको हो। सोमबार आयोजित कार्यक्रममा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म  हुने जानकारी गराइयो।

लोगो तथा मिती घोषणा कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सहभागी थिए। उनले प्रतियोगिताको लोगो सार्वजनिक गरेका थिए।

निजी क्षेत्रको नेतृत्वमा भएको टी-२० लिगमा म्याच फिक्सिङ भएर बदनाम भएपछि नेपाल प्रिमियर लिग भने क्यान आफैँले आयोजना गर्ने निर्णय गरेको थियो।

टी-२० लिगकोक्रममा क्यानको नेतृत्व समेत विवादमा तानिएको थियो। लिग आयोजनाको जिम्मेवारी पाएको भारतीय कम्पनीको प्रमुख म्याच फिक्सिङ गराएको, खेलाडीहरुलाई तोकिएको रकम नदिएको लगायतका विवादमा तानिएपछि उनी प्रतियोगिता नसकिदै भागेपछि क्यानले लिगको बाँकी खेल खेलाएको थियो।

निजी टिम सहभागी गराएर क्यानले गर्ने लिगमा पनि मुख्य चुनौती म्याच फिक्सिङबाट जोगिने देखिन्छ। अनलाइन जुवा खेलाउने वनएक्स बेट लगायतका अन्तराष्ट्रिय कम्पनीहरु खेल सम्बन्धी न्युज पोर्टलको आवरणमा यस्तो प्रतियोगितामा प्रवेश गरेर जुवा खेलाउँदै बेटिङ र म्याचफिक्सिङसम्म गराउन सक्रिय हुने गरेको यस अगाडिको लिगको अनुसन्धानमा खुलेको थियो।

क्यानले आयोजना गर्ने प्रदेश र केन्द्रीय तहकै प्रतियोगिताहरुमा समेत अनलाइन बेटिङ गराउने कम्पनीहरु लाइभ खेल र खेल गतिविधीको प्रत्यक्ष जानकारी लिन मिडीया पाट्नरको रुपमा भित्रिने गरेका छन्। यसमा क्यान नेतृत्वसँगै राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसम्म मौन रहँदै आएका छन्।

भदौ २, २०८१ सोमबार २१:०३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।