अभिनेत्री नीताको दुख, फिल्म निर्माण भन्दा रिलिज मिति तोक्न सकस

अभिनेत्री नीताको दुख, फिल्म निर्माण भन्दा रिलिज मिति तोक्न सकस

काठमाडौँ : फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गर्ने घोषणा गरेको लामै समयसम्म अभिनेत्री नीता ढुंगानाले फिल्म निर्माणको चरणमै लैजान सकिनन्। लामै समय फेसबुकमा फलानो कलाकारलाई स्वागत छ र तीलानो कलाकारलाई स्वागत छ भनेर लेखेकै बिताइन्।

दक्षिण भारतीय फिल्ममा जमेका कलाकारहरू अनुबन्ध गरेर बल्ल बल्ल फिल्म फ्लोरमा गयो। प्रमोसनका सामाग्री एकपछि अर्को सार्वजनिक गरे पनि रिलिज कहिले गर्ने मिति तोक्न सकिनन् उनले। उनले असोज ३ गतेलाई प्रदर्शन गर्ने घोषणा गरिन्। तर तीन दिन अघि मात्रै निर्मात्री समेत रहेकी ढुङ्गानाले असोज ३ फिल्म प्रदर्शन गर्न नसकिने जानकारी दिइन्। सोमबार पुन कार्तिक ३० गते रिलिज डेट तोकेको छ निर्माण टिमले।

तर अझैँ पत्याइहाल्ने अवस्था भने छैन। यो फिल्मले न दसैँको छेको भेट्यो न तिहार। एकै पटक दसैँ तिहार सकिएपछिको मन्दीकालको मिति तोकेको फिल्मको रिलिज मिति पुन नसर्ला भन्न सकिन्न।

फिल्मको जति प्रमोशनल सामाग्री सार्वजनिक भइरहेका छन् त्यसले कलाकार मात्रै हैन, नेपाली भाषामा दक्षिण भारतीय फ्लेवरको फिल्म बनाउने प्रयास भएको प्रस्टै देखिन्छ। दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरूले समेत अभिनय गरे पनि फिल्मको केन्द्रीय पात्र नीता र उनका श्रीमान् हरिहर अधिकारी रहेको देखिन्छ।

युवा ज्योतिषको रूपमा परिचय बनाएका हरिहरको पहिलो फिल्म त फ्लप भइहाल्यो। दोस्रो फिल्ममा पनि उनको अभिनयको स्तर कस्तो छ भन्ने त दुर्गेश थापाको आवाजमा उनको नृत्य समेटिएको प्रमोश्नल गीतको गुणस्तरले नै देखाइसक्यो।

नेपालमा अहिलेसम्मकै महँगो फिल्म दाबी गरिएको फिल्मको पोस्ट प्रोडक्सनको काम अहिले भारतमा भइरहेको निर्माण टिमको दाबी छ। द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा दक्षिण भारतीय कलाकारसँगै नीता, हरिहर,रेखा थापा,सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल,प्रशान्त ताम्राकार,किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ लगायतका कलाकारको समेत अभिनय छ।

दक्षिण भारतका ब्रम्हानन्दम, अलि, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल वर्मा र कबीर दुहन सिंह समेत फिल्ममा अनुबन्धित भएका थिए। बलिउडका छायाकार कवीरलालले खिचेको फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज गर्ने निर्माण पक्षको दाबी छ।

भदौ ३, २०८१ सोमबार १७:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।