खेल क्षेत्रमा भ्रष्टाचार : नौ करोड खर्च गरेर रङ्गशालामा राखेको ‘सेन्थेटिक ट्र्याक’ एक महिनामै उप्कियो

खेल क्षेत्रमा भ्रष्टाचार : नौ करोड खर्च गरेर रङ्गशालामा राखेको ‘सेन्थेटिक ट्र्याक’ एक महिनामै उप्कियो

बाँके : राष्ट्रिय खेलकुद परिषद्ले नौ करोड ८६ लाख ४० हजार खर्च गरेर बाँकेको नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ एक महिनामै उप्कियो। परिषद्ले ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ट्रयाकको ठेक्का दिएको थियो। असारमा निर्माणको काम सम्पन्न भएकोमा भदौमै रङ्गशालामा जडान गरिएको ट्र्याक उप्किएको छ।

राष्ट्रिय खेलकुद परिषद्, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले सेन्थेटिक ट्र्याक निर्माणका क्रममा खटिएका प्राविधिक टोली काठमाडौँमा रहेको र आफू यस विषयमा अनविज्ञ रहेको तर्क गरे।

‘कामको प्राविधिक भाग हेर्ने निकाय काठमाडौँमा हुनुहुन्छ। हामीले यहाँ हेर्दा ठेकेदारले काम गरेकै देखिन्थ्यो। कहाँनेर के कुरा नमिलेर ट्र्याक उप्कियो, हामी अनविज्ञ छौँ”, उनले भने‘यो राखेप लज्जित हुनुपर्ने विषय बन्न पुग्यो।’

चन्दले ट्र्याक उप्किएको विषयमा राखेप केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेको भन्दै केन्द्रबाट विज्ञ टोली आएर छानबिन गरेपछि मात्रै ट्र्याक किन उप्कियो भन्ने थाहा हुने बताए।

जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले खेल क्षेत्रको विकासका लागि राखेप जिम्मेवार नभएकै कारण संरचना नबन्दै भत्कने गरेको बताए।

एक महिनामै ‘सेन्थेटिक ट्र्याक’ उप्कनुले राखेपको गैरजिम्मेवारीपन प्रस्ट देखिएको भन्दै उनले करोडौँको ठेक्काको गुणस्तरमा ध्यान नदिएको दाबी गरे।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्र्याक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गरे। निर्माण सम्पन्न भएको एक महिनामै ट्र्याक उप्किनुले कम गुणस्तरको सामान प्रयोग भएको उनले बताए। ठेकेदार कम्पनीले उक्त ट्र्याक राखेपलाई हस्तान्तरण गर्न भने बाँकी छ।

-रासस

भदौ २, २०८१ सोमबार १७:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।