बालुवाटारमा महिला भलिबल टिमलाई ब्रेकफास्ट गर्न बोलाएर केके भने प्रधानमन्त्री ओलीले?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक तथा खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए।
प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको दाबी गरे।
उनले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराए।
भलिबल खेलको विकासका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरे।
'सरकारको ढुकुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौं। आगामी खेलमा जित्छौं भन्ने जुन तपाईंहरूको मनोबल छ, त्यो साकार होस्, उनले भने।
बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरूले बताए।
भदौ ३, २०८१ सोमबार १५:२८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।