आन्तरिक कलहको पीडामा मुर्झाएका रवि

आन्तरिक कलहको पीडामा मुर्झाएका रवि

काठमाडौं : पारिवारिक विचलन होस् या आर्थिक बदमासी वा राष्ट्रको कानुनी पहिचानको मुख्य आधार नागरिकता नै किन नहोस्, प्राय हरेक जायज प्रश्नको आफ्नै शैलीमा 'डिफ्युज' गर्न सफल भए रवि लामिछाने।

मतदान हुनु अगाडि नागरिकता नै निष्क्रिय रहेको उम्मेदवारलाई जिताउन मतदाता कमै उत्साहित हुनुपर्ने हो, तर भएनन् उनको हकमा। चितवन-२ मा उनी निर्वाचित भए उप-निर्वाचन हुने पक्का थियो , राहदानीमा अनुसन्धान, अभियोजन र फैसला भएको भए त उनी उम्मेदवार समेत बन्न पाउँदैनथे।

तर, लामिछानेको चलाखी अनि बदमासी गर्दा निर्दोशपना देखाएर अर्कैलाई दोष लगाएर माफी लिइहाल्ने 'बाल स्वभाव' देखाएर उनी आफ्ना प्रतिष्पर्धीलाई निकै पछाडि छाड्न सफल भए २०७९ मंसिर ४ को निर्वाचनमा।

निष्क्रिय नागरिकताका कारण सांसद पद गुम्ने पक्का थियो र गुम्यो पनि। निष्क्रिय नागरिकता ‘सक्रिय छ’ भन्दै ढाँटेर उप-निर्वाचनको चरणमा पुगे पनि त्यसले चितवन-२ का मतदातामा कुनै प्रभाव परेन।

दोहोरो नागरिकता प्रयोग गर्दै आफूले गरेको 'अपराध' लाई षड्यन्त्र भन्दै उल्टो सहानुभूति जुटाउन सफल भए। परिणाम, उप-निर्वाचनमा आम निर्वाचनमा भन्दा बढी मत ल्याएर त जिते नै, सांसद बन्ने स्वर्णिम वाग्लेको सपना समेत पूरा गरिदिए। उप निर्वाचनपछि संसदमा २० सिटको रास्वपा २१ सिटको बन्यो।

तर अवस्था सधैं सामान्य रहेन। विस्तारै उनका बदमासीका पोकाहरु खुल्दै गए। सहकारी ठगी, ग्यालेक्सी टेलिभिजन खोल्न उनले जीवी राईसहितको समूहसँग मिलेर गरेका बदमासी सतहमा आउन थाले। विस्तारै उनी आक्रामकभन्दा रक्षात्मक बन्दै गए। आफू जोगिन 'थाहा छैन' कार्डको राम्रै उपयोग गरे।

पहिलो पटक सरकारमा जाँदा खस्किएको राजनीतिक सूचक उकास्ने प्रयासमा लागे। तर लामो समय उनी प्रतिपक्षी बेन्चमा बस्न सकेनन्। सत्ता गठबन्धन बदलिएर माओवादी-एमालेको सरकार बने लगत्तै पुन उही उपप्रधान तथा गृह लिएर सरकारमा सहभागी भए।

तर पहिलो पटक जुन जोशका साथ सरकारमा गएका थिए उनी, दोस्रो पटक सरकारमा जाँदा त्यो उत्साह अनि जोश देखिँदैनथ्यो उनमा। सहकारीको रकम अपचलनको आरोपले घेर्दै आइसकेको थियो भने पार्टीभित्र पनि असन्तुष्टिका स्वरहरु उठ्न थालिसकेका थिए।

दोस्रो पटक सत्ताधारी बन्नु अनि पार्टीभित्रको कलह व्यवस्थापनको साटो मुख्य सहयोगी महामन्त्री मुकुल ढकालमाथि कारबाहीको चरणमा प्रवेश गर्दा रविले त्यो जोश कायम राख्न सकेनन्।

सहकारी ठगी, जान्न भन्दाभन्दै दोस्रो पटक सत्ताको यात्रा अनि पार्टीको आन्तरिक कलहको घेरामा एकै पटक घेरिँदा रविले त्यो आत्मबल कायम राख्न सकेनन्। अकस्मात् सरकारबाट बाहिरिनुपर्दाको झड्काले रवि मुर्झाए। रवि मुर्झाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह कहाँ कायम रहन सक्छ र!

पार्टीबाट बाहिरिएका मुकुल रास्वपालाई 'रवि क्लब'बाट मुक्त गर्ने भन्दै आक्रमणमा सक्रिय छन्। रविसहितको टिम प्रारम्भमा प्रत्याक्रमणमा सक्रिय थिए। अहिले रक्षात्मक अवस्थामा छन्।

प्रतिपक्षी दल बनेसँगै उनको ध्यान पार्टीको संयन्त्र बलियो बनाउनमा केन्द्रित देखिन्छ। पार्टी अहिले आन्तरिक छलफल र तयारीमा जुटेको देखिन्छ। केन्द्र स्थानीय तहसम्मलाई सक्रिय बनाउन प्रयासरत देखिन्छन्।

पार्टी स्थापनाकालदेखि महाधिवेशनका लागि तोकेको मिति सार्दै आएको नेतृत्व महाधिवेशन लक्षित गतिविधिमा लागे जस्तै देखिएको छ। तर त्यसले उत्साह सञ्चार गरेको भने देखिन्न।

संसद बैठकमा पार्टीका सांसदले विषय अनुसार धारणा राखिरहेकै छन्। तर, पहिलाको त्यो जोश देखिँदैन उनीहरूमा। कता-कता 'एन्जाइटीले घेरिएर रिकभरको चरणमा' रहेको दलका नेता जस्तै देखिएका छन् उनीहरू।

त्यसमा पार्टी नेतृत्व नै सहकारीका बचतकर्ताको रकम अपचलनको आरोपमा संसदीय छानबिन समितिमा बयान दिन धाइरहेका छन्। पार्टी अध्यक्ष मात्र हैन, उपसभापति डीपी अर्यालदेखि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी अनि सह महामन्त्री विपिन आचार्यसम्म यसमा जोडिएका छन्। निरन्तर एकपछि अर्को नेता सहकारी ठगीमा जोडिदा राजनीतिक परिवर्तनको अजेण्डा बोकेको समूहको पहिचान 'सहकारी ठग समूह' मा बदलिँदै गइरहेको छ।

उता सर्वोच्च अदालतको संवैधानिक इजलासमा रविमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा विचाराधीन नै छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेको सुर्यदर्शन सहकारी ठगीको पूरक जाहेरी जुनसुकै बेलामा अनुसन्धानको चरणमा प्रवेश गर्ने जोखिम छँदैछ।

पहिलो चरणको सत्ता यात्राबाट बाहिरिएपछि ‘१२ भाइ’ भन्दै मिडियामाथि गरेको भद्दा आक्रमणबाट बिग्रिएको सम्बन्ध सुधार्न रविले माफी मागे पनि सम्बन्ध सुध्रन सकेको छैन। चिसोपना कायम छ। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरणको अनुसन्धान प्रारम्भ गरे पनि निचोडमा नपुर्याइ हिँड्दा जायज अनुसन्धान पनि व्यक्तिगत तुषको रूपमा स्थापित हुने चरणतिर लम्किसक्यो।

गृहमन्त्रीको रूपमा उनले गरेका सरुवा र बढुवा उल्लेख लायक हुँदा-हुँदै संगठन नेतृत्वलाई विश्वासमा लिएर काम गर्नुको साटो जसरी पनि आइजीपी हुन जे पनि गर्न तयार दोस्रो तहका प्रहरी अधिकारीको सल्लाहमा चल्दा त्यो जश पनि लिन सकेनन्।

सीआईबीको प्रमुख किरण बज्राचार्य टिमलाई बदनियतपूर्वक अनुसन्धान गरेको भन्दै सरुवा गराएर श्याम ज्ञवालीलाई ल्याए रविले। तर, संगठनको चेन अफ कमाण्ड अनुसार नेतृत्वको फलो नगरी ज्ञवालीको महत्वाकांक्षाको हतियार बन्दा बज्राचार्यको सरुवा नि बदनियत देखियो।

सत्ता, संगठन, पार्टी निर्माण। यो बिचमा रविले जता हात हाले, त्यतै भत्कियो। उनको व्यक्तिगत उपलब्धि छोटो समयमा उपप्रधान तथा गृहमन्त्री बन्नु नै रह्यो। तर, आफूसँगै निरन्तर घट्दो पार्टीको साखमा टेको लगाउन उनी अझै सफल भएनन्।

आफू मुर्झाए, पार्टी नि मुर्झायो, काँचको पर्दामा देखाएको परिवर्तन राजनीतिमा नि गर्छन् कि भनेर साथ दिएका मतदाताको आश नि मुर्झायो।

परिणाम, निर्वाचन क्षेत्रका मतदाताले प्रश्न सोध्दा ‘दुर्व्यवहार भो’ भन्ने चरणमा पुगे पार्टीका सांसद। यो बेला उनी न 'थाहा छैन' भन्ने अवस्थामा छन् न पुराना दल अनि पुराना नेतालाई नै गाली गरेर उम्कन सक्ने अवस्थामा छन्।

भदौ २, २०८१ सोमबार १३:०५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।