पिउने पानीदेखि दाल, तेल र तयारी चाउचाउसम्म गुणस्तरहीन; १८ उद्योगविरुद्ध मुद्दा

पिउने पानीदेखि दाल, तेल र तयारी चाउचाउसम्म गुणस्तरहीन; १८ उद्योगविरुद्ध मुद्दा

बुटवल : रम्भा फुड प्रडक्ट्स रुपन्देहीले उत्पादन गर्ने गरेको सिन्के चाउचाउ न्यून गुणस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले उद्योगविरुद्ध २०८० मंसिर २७ गते जिल्ला अदालमा मुद्दा दायर गर्यो।

रुपन्देहीको ओमसतिया-२ मा रहेको अरुण एग्रो प्रालिले उत्पादन गरेको नौनी परीक्षण गर्दा खानको लागि योग्य नभएपछि कार्यालयले जिल्ला प्रशासन कार्यालयमा ०८० कार्तिक १ गते मुद्दा हाल्यो।

सैनामैना-१० मा रहेको सालझण्डी दुध उत्पादक सहकारी संस्थाविरुद्ध पनि खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जिल्ला अदालतमा मुद्दा दायर गर्यो। लेबलविना उत्पादित घ्यू बेचिरहेको फेला पारेपछि २०८० साउन १५ गते मुद्दा दर्ता भयो।

रुपन्देहीको सियारी-१ मा रहेको राईजिङ सन एग्रो ईन्डष्टिज प्रा.लिले उत्पादन गरेको चिउरा दूषित भेटिएपछि खाद्य कार्यालयले २०८० साउन ७ गते जिल्ला अदालतमा मुद्दा दायर गर्यो।

यी केही प्रतिनिधि उदाहरण मात्र हुन्। खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले रुपन्देही र नवलपरासीका विभिन्न उद्योगबाट उत्पादन भएका वस्तु खाद्य पदार्थमा कैफियत भेटिएपछि आर्थिक वर्ष ०८०/०८१ मा मात्र १८ वटा मुद्दा दायर गरेको छ।

कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाईका अनुसार जिल्ला अदालत नवलपरासीमा तीन, जिल्ला अदालत रुपन्देहीमा आठ, जिल्ला प्रशासन कार्यालय नवलपरासीमा तीन र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा चार गरी कुल १८ वटा मुद्दा दायर गरिएको छ।

उनीहरूविरुद्ध प्रशोधित पिउने पानीमा लेबल नभेटिएको तथा बेसन, घ्यू, तयारी चाउचाउ, जिराको धुलो, सूर्यमुखी तेल, चिज बल्समा न्यूनगुणस्तर भएको अभियोग लगाइएको छ। यस्तै बेसारमा अखाद्य रङ मिसाइएको भन्दै अभियोग लगाइएको छ।

कार्यालयका अनुसार दुर्गा मोर्डन दाना मिल रुपन्देहीले उत्पादन गरेको रहरको दाल दूषित भएको भन्दै मुद्दा दायर भएको छ। सरावल-१, नवलपरासीमा रहेको आरोग्य हर्बल उद्योगबाट उत्पादित प्रशोधित पिउने पानी न्यून गुणस्तरको भएको भन्दै जिल्ला अदालत नवलपरासीमा कार्यालयले मुद्दा दर्ता गरेको छ।

नवलपरासी रामग्राम नगरपालिका-१० को बरुण वेभरेज प्रा.लिले उत्पादन गरेको पेय पद्धार्थ दूषित भएको भन्दै मुद्दा दायर भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ मा रहेको आरुपी वेभरेज इन्ड्रष्टिजले उत्पादन गरेको प्रशोधित पिउने पानी पनि दूषित भेटिएकाले जिल्ला अदालत रुपन्देहीमा ०८० भदौ २६ गते मुद्दा दर्ता गरिएको छ।

निष्ठा एग्रो डेरी फर्म सियारी-५ रुपन्देहीले उत्पादन गरेको दाना दूषित भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दर्ता भएको छ। आरोग्य हर्वल उद्योग उद्योग सरावल-१ बाटै उत्पादन भएको प्रशोधन पानीको लेबल ऐन विपरीत नभएको भन्दै जिल्ला प्रशासन विरुद्ध नवलपरासी विरुद्ध पनि ०८० साउन २५ गते मुद्दा दायर भएको छ।

पञ्चमुखी वाटर इन्टरप्राइजेज सरावल गाउँपालिका-६ ले उत्पादन गरेको प्रशोधित पिउने पानीमा लेबल नभएको भन्दै जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता भएको छ। यहि कम्पनी विरुद्ध पानी उत्पादन ऐन विपरीत रहेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ०८० असोज २१ गते खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले मुद्दा दायर गरेको छ।

यसैगरी गाजी सोना पापड एण्ड बेकरी उद्योग, सिद्धार्थनगर-८ ले उत्पादन गरेको बेकरी आइटममा पनि लेबल नभएको भन्दै प्रशासन कार्यालय रुपन्देहीमा ०८० असोज १५ गते मुद्दा दायर भएको छ।

यसैगरी रामग्राम नगरपालिका-१० मा रहेको शिवशक्ति वाटर इण्ड्रष्टिज विरुद्ध जिल्ला अदालत नवलपरासी र जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दुई छुट्टा-छुट्टै अभियोग लगाएर मुद्दा दर्ता भएको छ। जिल्ला अदालतमा ०८० फागुन ९ गते प्रशोधित पानी दूषित भएको भन्दै मुद्दा दर्ता भएको छ भने प्रशासन फागुन २४ गते ऐन विपरीत प्रशोधित पानी उत्पादन भएको भन्दै मुद्दा दर्ता भएको छ।

यसैगरी रुपन्देहीको माया देवी-८ मा रहेको घराना फुड प्रा.लिले उत्पादन गरेको बसेन न्यूनस्तरको रहेको भन्दै ०८० चैत १ गते जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता भएको कार्यालयले जनाएको छ।

अनुगमन नाम मात्राको
खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेका अधिकांश अनुगमन चाडपर्व केन्द्रीत हुने गरेको छ। त्यसमा पनि नाम मात्रको अनुगमन हुने गरेको गुनासो जनमानसमा छ।

कार्यालयले खाद्य स्वच्छता सर्भिलेन्सका लागि आर्थिक वर्ष ०८०/८१ मा दुई सय २० नमुना संकलन भएको छ। होटलहरूमा ५४ पटक अनुगमन भएको र दुई पटक होटल लोगो स्तरीकरण तथा नवीकरण कार्यक्रम भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार उसले २०१ वटा उद्योगमा अनुगमन गर्दै एक हजार ७७८ वटा विभिन्न वस्तुका नमुना संकलन गरी जाँच परीक्षण गरेको छ। कार्यालय प्रमुख हलवाईले वार्षिक लक्ष्य अनुसार नै अनुगमन, निरीक्षणका कामहरू भइरहेको बताए।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले अनुगमन नियमित गरे पनि सबै क्षेत्रमा पुग्न नसकेको स्वीकार गरे। स्थानीय तहले समेत पछिल्लो समय अनुगमनलाई निरन्तता दिएको भए पनि प्रभावकारी नभएको उनको स्वीरोक्ति छ।

‘पहिलेको तुलनामा अनुगमन भएको छ तर बढी महत्वकांक्षी हुँदा प्रभावकारी हुन सकेको छैन। व्यवसायीलाई कारबाही पनि अहिले कम भएको छ। अहिलेको अवस्थालाई हेरेर कतिपय अवस्थामा व्यावहारिक पक्ष हेरेर कारबाही नगरी सचेत गराइएको छ’, उनले भने।

भदौ २, २०८१ सोमबार १२:२०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।