बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला

बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला
फाइल तस्बिर

बझाङ : जिल्लामा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जनाको शव फेला परेको छ।

गएराति एक बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरूको शव सोमबार विहान निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, छ वर्षीया आकृति धामी र तीन वर्षीया लक्ष्मी धामी रहेका छन्।

उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको टोलीले निकालेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फणीन्द्र भण्डारीसहितको टोली समेत राहत सामाग्रीसहित बुङ्गलतर्फ हिँडिसकेको छ।

प्रहरीका अनुसार राति करीब साढे १ बजेको समयमा एक्कासी वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो।

पहिरो गएको थाहा पाएपछि ६२ वर्षीय धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन्।

भागेर बाँच्नेमा १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी रहेका छन्।

घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ।

भदौ २, २०८१ सोमबार १०:३६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।