कुर्स्क क्षेत्रको अर्को रणनीतिक पुल पनि युक्रेनी सेनाद्वारा ध्वस्त

कुर्स्क क्षेत्रको अर्को रणनीतिक पुल पनि युक्रेनी सेनाद्वारा ध्वस्त

एजेन्सी : युक्रेनले कुर्स्कको अर्को रणनीतिक पुललाई पनि आक्रमण गरी ध्वस्त पारेको छ।

युक्रेनी वायुसेना कमाण्डर माइकोला ओलेशचुकले पनि सामाजिक सञ्जालमा यससँग सम्बन्धित भिडियो सार्वजनिक गरेका छन्।

रणनीतिक महत्वको यो पुल ध्वस्त पारेसँगै रूसको आपूर्ति लाइन धेरै प्रभावित भएको छ।

युक्रेनले ध्वस्त पारेको रुसमा यो दोस्रो पुल हो। दुई दिनअघि युक्रेनी सेनाले कुर्स्कको ग्लुसकोभोमा रहेको अर्को पुल भत्काएको थियो।

रोयटर्सका अनुसार यो पुल सिम नदीमा बनेको हो  यो युक्रेनी सीमाबाट १५ किलोमिटर टाढा छ।

रुसको म्यास न्यूजका अनुसार कुर्स्कमा तीन वटा पुल भएकोमा अब भने एउटा मात्र पुल बाँकी छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्क क्षेत्रलाई बफर जोन बनाउन हमला गरिरहेका बताएका छन्। दुई देशबीचको खाली ठाउँलाई बफर जोन भनिन्छ।

युक्रेनले अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो। त्यसपछि रुसले कुर्स्कमा संकटकाल लगाएको थियो। यसपछि रुसले बेल्गोरोडमा पनि आपतकाल लगाएको थियो।

युक्रेनले अगस्ट १६ सम्म रुसबाट एक हजार १५० वर्ग किलोमिटर भूभाग कब्जा गरेको थियो। बीबीसीका अनुसार युक्रेनको अचानक आक्रमणपछि २ लाखभन्दा बढी रुसी नागरिक आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।

भदौ २, २०८१ सोमबार १०:०९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।