ईपीएलमा म्यान्चेस्टर सिटी र ब्रेन्डफोर्डको विजयी सुरुवात

ईपीएलमा म्यान्चेस्टर सिटी र ब्रेन्डफोर्डको विजयी सुरुवात

काठमाडौं : ३३औं संस्करणको इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र ब्रेन्डफोडले विजयी सुरुवात गरेको छ।

आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-० गोलले पराजित गरेको हो।

सिटीका लागि इर्लिङ हल्याण्डले खेलको १८औं मिनेटमा गोल गर्दा ८४औं मिनेटमा माटिओ कोभाकले गोल गरेका थिए। पूरा खेलमा सिटीका खेलाडीहरु चेल्सीमाथि हावी थिए।

यस्तै आइतबार नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

ब्रेन्टफोर्डका लागि खेलको २९औं मिनेटमा बार्यन एम्ब्यूमोले सुरुवाती अग्रता दिए। पहिलो हाफ १-० को अवस्थामा सकियो।

दोस्रो हाफमा क्रिस्टल प्यालेसका लागि ब्रेन्टफोर्डका पिनोकले आत्मघाती गोल गरिदिएपछि खेल १-१ को बराबरीमा पुग्यो। इथानले उक्त गोल ५७औं मिनेटमा गरेका थिए।

यद्यपि त्यो बराबरीलाई प्यालेसले जोगाएर राख्न सकेन। खेलको ७६औं मिनेटमा ब्रेन्डफोर्डका योअनी विस्साले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

३८ चरणमा खेलाइने लिगको पहिलो चरणको खेल आज राति लेस्टर सिटी र टोटनहमको खेल भएसँगै सकिन्छ। उक्त खेल राति पौने १ बजे हुँदैछ।

भदौ ३, २०८१ सोमबार ०८:०४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।