नेपाल दिनभर, पाँच तस्बिरमा : निर्देशन मन्त्रीको नौटङ्कीदेखि चरा हेर्ने क्रेजसम्म

नेपाल दिनभर, पाँच तस्बिरमा : निर्देशन मन्त्रीको नौटङ्कीदेखि चरा हेर्ने क्रेजसम्म
चरा हेर्ने क्रेज : कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पुरैनी तालको सिमसार क्षेत्रमा क्यामेरा, बाइनाकुलर, टेलिस्कोपको सहायताले चरा हेर्दै गरेका युवा। नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले चरा संरक्षणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले युवालाई सङ्गठित गर्दै आएको छ।तस्बिर : रासस

काठमाडौँ : सत्तापक्षबाट प्रतिपक्षमा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीहरूलाई आन्दोलनको तयारी गर्न सर्कुलर गरे। उनी सत्ता नेतृत्वबाट बाहिरिएदेखि सडक अनि संसद् दुबैतिर आन्दोलन गर्ने दाबी गर्दै आएका छन्।

आइतबार नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार गए। उनी पक्राउ पर्दा सत्तादेखि प्रहरी प्रशासनसम्ममा तरङ्ग आएको थियो। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्राकृतिक विपद्मा सरकारको कमजोरीबारे धारणा राखे।

यी बाहेक उकेराले पाँच तस्बिरसहितको फोटो कथा ल्याएको छ।

निर्देशन मन्त्री : खानेपानीमन्त्री प्रदीप यादवले थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्णको अवलोकन गरे। उनले सो क्षेत्रको भ्रमण गर्दै खानेपानी चुहावट नियन्त्रण गर्न निर्देशन दिएका थिए।

जनैको व्यापार : जनै पूर्णिमा अघिल्लो दिन काठमाडौँ असनमा आइतबार जनै लगायतका सामाग्री खरिदका लागि हेर्दै सर्वसाधारण।

आयो पर्व : रक्षा बन्धनको पूर्व सन्ध्यामा आइतबार सुनसरीको इनरुवा बजारमा राखी किनमेल गर्दै स्थानीय। रक्षा बन्धनमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना गर्दै राखी बाँध्ने चलन छ।

धान फल्ने खेतमा घर : वीरेन्द्रनगर नगरपालिका–१० स्थित धान खेतको बिच बिचमा निर्माण भएका पक्की घरहरू। यहाँ खेतीयोग्य जमिनमा पक्की घरहरू निर्माण भइरहँदा खेतीयोग्य जमिन खुम्चिँदै गएको छ।

 

भदौ १, २०८१ आइतबार २३:२४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।