मुग्लिन–पोखरा सडक विस्तार : दमौली बजारका घर हटाउन सहमति
दमौली : मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घर हटाउन सहमति भएको छ। जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आइतबारको बैठकले छ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनुपर्ने घर हटाउन प्रक्रिया अगाडि बढाउने सहमति भएको हो।
व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत् पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरू भत्काउन बाँकी रहेकाले सम्बन्धित वडाध्यक्ष, प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा उक्त सहमति गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।
पूर्वी खण्डमा विक्रम संवत् २०७७ माघ १७ मा सम्झौता भएर २०७८ वैशाख २ देखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।
२०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।
बैठकले सडक निर्माण गर्दा क्रसिङको माग ज्यादा भएकाले सुरक्षा र सम्भावनालाई मध्यनजर गरी सो सम्बन्धमा आयोजनाबाट तत्काल सम्बोधन गर्ने निर्णय भएको न्यौपानेले बताए।
उनका अनुसार भत्काउने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने र घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय भएको छ।
राजमार्गको पूर्वी खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको छ। पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म आर्थिक वर्ष २०८०-८१ मा एकतर्फी रूपमा हिसाब गर्दा ५५ किलोमिटर खण्ड दुई लेन कालोपत्रे भएको हो।
हालसम्म भने एकतर्फी रूपमा ६३ किलोमिटर खण्ड कालोपत्रे सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। वर्षाका कारण अहिले कालोपत्रेको काम रोकिएको छ।
उनले भने ‘अन्य काम भइरहे पनि वर्षाका बेलामा कालोपत्रे गरेका छैनौ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्रे हुनेछ।’
पूर्वी खण्डमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन्। त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भामा घर टहरा हटाउन ढिलाइले कालोपत्रे काम अगाडि बढ्न सकेको छैन।
पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएको छ। त्यस्तै दुई ठुला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको छ। यो खण्डको म्याद गत वैशाख २ गते सकिएपछि एक सय ५५ दिन पुनः म्याद थप गरिएको आयोजनाले जनाएको छ।
भदौ १, २०८१ आइतबार २२:५६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।