जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु, ज्येष्ठ नागरिकले एक लाखसम्मको उपचार निःशुल्क

जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु, ज्येष्ठ नागरिकले एक लाखसम्मको उपचार निःशुल्क

धनुषाधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ।

जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले आइतबार बीमा कार्यक्रमको उद्घाटन गरेका थिए। उनले मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउने सङ्ख्या न्यून रहेकाले यसलाई वृद्धि गर्न सबैले सहयोग गर्नुपर्ने बताए।

‘मधेसमा ११ प्रतिशतको हाराहारीमा मात्रै नागरिकले स्वास्थ्य बीमा गराएको तथ्याङ्क छ। जबकि बागमतीलगायत प्रदेशमा धेरै नागरिकले स्वास्थ्य बीमा गराइसकेका छन्। उनीहरूले यस कार्यक्रमबाट निकै लाभ लिइरहेका छन्’ उनले भने।

उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे।

गत जेठ २२ मा भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए।

उनले कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे।

बीमा गराएका व्यक्तिले अस्पतालमा उपचार गराएमा ज्येष्ठ नागरिकले एक लाखसम्मको उपचार निःशुल्क र बाँकी बिरामीले उपचार बापतको २० प्रतिशत रकम मात्रै तिर्नुपर्ने प्रावधान रहेको निर्देशक डा सुवेदीले जानकारी दिए।

कार्यक्रममार्फत बिरामीहरूलाई २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध गराइने उनले बताए। यस विगतमा पनि विपन्न, असहाय र गरिबलाई उपचारमा छुट दिँदै आएको र गतवर्ष मात्रै दुई करोड ११ लाख ६० हजार बराबरको निःशुल्क उपचार गरिएको कलेज प्रशासनले जनाएको छ। 

भदौ १, २०८१ आइतबार २२:४२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।