मन्त्री र सांसदहरूलाई बोलाएर महासङ्घले भन्यो’ निजी क्षेत्रमैत्री कानुन चाहियो’

मन्त्री र सांसदहरूलाई बोलाएर महासङ्घले भन्यो’ निजी क्षेत्रमैत्री कानुन चाहियो’

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घले संसद्मा विचाराधीन र निजी क्षेत्र सम्बद्ध करिब डेढ दर्जन कानुनबारे मन्त्री र सांसदहरूसँग छलफल गर्दै नीतिहरू निजी क्षेत्र मैत्री नभएको टिप्पणी गरेपछि उनले वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको बताए।

‘उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल भइरहेको छ’, उनले भने, ‘समस्या समाधानका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ।’

उनले सरकारले निर्माण गर्ने कानुन एकोहोरो ढङ्गको नहुने भन्दै निजी क्षेत्रमैत्री नै हुने दाबी गरेका थिए।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारेको दाबी गरे।

उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठुला उद्योगहरूको दर्ता हुने क्रम बढेको जानकारी दिँदै महासङ्घले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको बताए।

छलफलमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसद्मा विचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने प्रतिबद्धता जनाएका थिए। उनी आफैँ पनि विद्युत् गृहको लगानीकर्ता हुन्।

उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारण लाइनलगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा सरकार छलफलमा रहेको बताएका थिए।

छलफलमा सङ्घीय संसद् प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानुनमा छलफल भइरहेको उल्लेख गर्दै बृहत् छलफल पछि मात्रै निर्णय गरिने बताए।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए। लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्बाध काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका थिए।

कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताइन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक गतिविधि बढाउन पार्टी निजी क्षेत्रको साथमा रहने दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार आवश्यक रहेको बताए। उनले निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिए।

छलफलमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वातावरण बनाउन जोड दिए। उनले निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त देखिरहेको बताउँदै उनले कानुनसम्मत व्यवसाय गर्दा अवरोध हुन नहुने बताए।

उनले लगानी र उत्पादन निरुत्साहित हुने गरी कानुन निर्माण हुन नहुनेमा जोड दिएका थिए। 

भदौ १, २०८१ आइतबार २१:१८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।