पर्यटनमन्त्रीसँगको भेटमा पर्यटक आउने सिजनमा त्रिभुवन विमानस्थल मध्यरातसम्म चलाउन सिएनआइका प्रतिनिधिले माग गरे

पर्यटनमन्त्रीसँगको भेटमा पर्यटक आउने सिजनमा त्रिभुवन विमानस्थल मध्यरातसम्म चलाउन सिएनआइका प्रतिनिधिले माग गरे

काठमाडौँ : नेपाल उद्योग परिसङ्घ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले हवाई दुर्घटना न्यूनीकरणको उपाय अपनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग माग गरेको छ।

सिंहदरबारमा पर्यटनमन्त्रीलाई बधाई तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याइनुपर्नेमा जोड दिएको थियो।

टोलीले दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको थियो।

सो अवसरमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए। उनले २०८३ भदौसम्ममा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान हुने गरी काम गरिरहेको जानकारी दिए।

नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने उनले बताए। परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि नयाँ नीति ल्याउन जरुरी रहेको बताए।

छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे। पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राति १२ बजेसम्म गर्न उनले आग्रह गरेका थिए।

उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताएका थिए।

भदौ १, २०८१ आइतबार २१:०१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।