थामेखोला बाढी हेरेर फर्किएको टोलीले प्रधानमन्त्रीलाई भन्यो’ हिमतालको जोखिमबारे अध्ययन गराउनुपर्‍यो’

थामेखोला बाढी हेरेर फर्किएको टोलीले प्रधानमन्त्रीलाई भन्यो’ हिमतालको जोखिमबारे अध्ययन गराउनुपर्‍यो’

काठमाडौँ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा अकस्मात आएको बाढीबारे स्थलगत अध्ययन गरेर फर्किएको टोलीले अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने सुझाव दिएको छ।

घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सो दुई वटा हिमताल फुट्दा सो क्षेत्रमा बाढी गएको र अन्य दुई ताल जोखिम अवस्थामा देखिएकोबारे जानकारी दिएको थियो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा साउन ३२ मा हिमताल बिस्फोटहुँदा आएको बाढीले पर्यटकीय गाउँ थामेखोला डुबाएको थियो।

रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पा टोलीमा थिए।

स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने, क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनः निर्माणको योजना बनाइ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

टोलीबाट आएको जानकारीको आधारमा प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए।

सो क्षेत्रमा आएको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको र दिउँसोको समयमा घटना हुँदा र पूर्व सूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ।

भदौ १, २०८१ आइतबार २०:३९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।