माओवादीको सर्कुलर : जुनसुकै बेलामा सडक आन्दोलन गर्नुपर्ने हुनसक्छ, तयार रहनु

माओवादीको सर्कुलर : जुनसुकै बेलामा सडक आन्दोलन गर्नुपर्ने हुनसक्छ, तयार रहनु

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पार्टी कमिटीलाई सडक आन्दोलनका लागि तयार रहन सर्कुलर गरेको छ। आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा कांग्रेस र एमालेले गरेको सहमति सुशासनको अभियानलाई अवरुद्ध गर्न र मुलुकलाई २०४७ तिर फर्काउन भएको दाबीसहित सडक आन्दोलनका लागि तयार रहन उल्लेख छ।

कांग्रेस र एमाले मिलेर सरकार गठन गरेदेखि प्रचण्डले सार्वजनिक मञ्चहरूमा सरकारले राम्रो काम गरेपछि डराएर गठबन्धन गरेको दाबी गर्दै आएका छन्। उनी कहिले आन्दोलनको आँधीबेहरी ल्याउने दाबी गर्छन् त कहिले नेपालमा पनि बङ्गलादेशको जस्तै आन्दोलन हुने तर्क गर्छन्।

सर्कुलरमा स्थायी समिति बैठकका पार्टी अध्यक्ष प्रचण्डले राखेका धारणा समावेश गरिएको छ जसमा एमाले र कांग्रेसबीचको सहमति पश्चगामी भएको र संसद्मा सशक्त भूमिका प्रस्तुत हुनुपर्ने उल्लेख छ। संसद्मा सशक्त भूमिका निभाएपछि पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टाचारको संरक्षण गर्ने दिशामा सरकार अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने उल्लेख छ।

पार्टीको स्थायी समिति बैठकमा पार्टीको नेतृत्वको समेत आलोचना भएको थियो। सर्कुलरमा पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन निर्देशन समेत दिइएको छ।

भदौ १, २०८१ आइतबार १९:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।