अध्यक्ष ढकालबाट गोपनीयताको शपथसँगै रेग्मीले लिए ग्लोबल आइएमइ बैङ्कको कार्यकारी अधिकृतको जिम्मेवारी
काठमाडौँ– ग्लोबल आइएमई बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। उनले आइतबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
उनले कार्यभार सुरु गर्नु अगाडि बैङ्कको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव छ। उनले राष्ट्रिय वाणिज्य बैङ्कबाट बैंकिङ्ग करिअर सुरु गरेर २०६५ वैशाखबाट नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैङ्कमा प्रवेश गरेका थिए।
उनले ग्लोबल आइएमई बैङ्कमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका छन्।
रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबिए गरेका थिए।
शपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैङ्कका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैङ्क थप सबल र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।
रेग्मीले मुलुककै सबैभन्दा ठुलो र प्रतिष्ठित बैङ्कको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए।
भदौ १, २०८१ आइतबार १८:३७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।