साफ यू–२० मा नेपालको विजयी सुरुवात, श्रीलङ्कालाई १–० ले हरायो
काठमाडौँ : सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको छ। खेलको २४ औँ मिनेटमा नीराजन धामीले नेपालका लागि गोल गरेका थिए। सोही गोल खेल नतिजाको अन्तिम निर्णायक बन्यो।
नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगस्टमा बङ्गलादेशसँग खेल्नेछ। त्यसअघि बङ्गलादेश र श्रीलङ्काबिच खेल हुनेछ। श्रीलङ्का बङ्गलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनलमा पुग्नेछ।
प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग सङ्गठन सार्कमा आबद्ध ६ देश सहभागी छन्। ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तय भए पनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था ‘हिले खेत’ समान बनेपछि एन्फा कम्प्लेक्समा खेल सारिएको हो।
भदौ १, २०८१ आइतबार १८:२४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।