‘सत्ता उथलपुथलका कारकमध्येका एक’ बेचन झा पुर्पक्षका लागि सुन्‍धारा कारागारमा, सबै आरोप अस्वीकार

‘सत्ता उथलपुथलका कारकमध्येका एक’ बेचन झा पुर्पक्षका लागि सुन्‍धारा कारागारमा, सबै आरोप अस्वीकार

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी  गर्न सक्रिय समूहका सदस्यहरूलाई उच्च तहका नेता र नेतृहरूसँग भेटाएर सहजिकरणमा संलग्न रहेको अभियोग लागेका भारतीय नागरिक बेचन झा पुर्पक्षका लागि कारागार चलान भए।

आइतबार काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेकको बहसकाक्रममा न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिए। तीन वर्ष बढी कैद सजाय हुनसक्ने, बाहिर निस्कँदा फरार हुनसक्ने, प्रमाणमा छेडखानी गर्न सक्ने र पीडितहरू असुरक्षित हुनसक्ने सम्भावना देखिएका व्यक्तिलाई मुद्दाको किनारा नलागेसम्म कारागारमै राख्ने आदेश दिने गरिन्छ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ। भारतबाट पक्राउ गरेर ल्याइएको उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धानकोक्रममा झामाथि चार वटा कसुरमा अनुसन्धान गरेको थियो।

उनीमाथि प्रहरीले ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको कसुरमा अनुसन्धान गरेर सोही अनुसारको मुद्दा चलाउन राय दिएको थियो। प्रहरीको सुझाव अनुसारै जिल्ला सरकारकी वकिलको कार्यालयले झाविरुद्ध मुद्दा दायर गरेको थियो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सक्रिय गिरोहसँग चेक लिएको देखिए पनि सो चेक साटिएन। भारतबाट पक्राउ गरेर ल्याएदेखि नै उनी मौन बसेका थिए। प्रहरीले उनको मोबाइलमा एक अडियो संवाद फेला पनि पारेको थियो। तर उनले चेक लिएकोदेखि अडियोसम्म अस्वीकार गरेका थिए।

झा फरार रहँदा उनी पक्राउ पर्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका माथिल्ला तहका प्रभावशाली नेता तथा नेतृहरू विरुद्ध प्रमाण फेला पर्ने दाबीहरू आएका थिए। तर अनुसन्धानमा त्यस्तो केही फेला परेन। बेचनले बयानमा कसैको नाम पोलेनन्।

माओवादी केन्द्र र एमालेको गठबन्धन तोडिएर नेपाली कांग्रेस र एमालेको सरकार बन्नुको विविध कारणमध्ये वेचनको पक्राउलाई समेत लिइएको थियो। रहस्यमय रूपमा बेचनलाई नेपाल ल्याएर एकाएक जिल्ला प्रहरी परिसरमा बुझाइएको थियो भने कांग्रेस नेतृ आरजु राणा समात्न बुढानीलकण्ठ क्षेत्रमा धरपकडको प्रयास समेत भएको थियो।

पहिला बेचन पक्राउ परे पनि पहिला एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउको घटना सार्वजनिक भएको थियो। उनी पनि पुर्पक्षका लागि थुनामै छन्। बेचन पक्राउमा संलग्न रहेको दाबी गरिएका विशेष ब्युरोका तत्कालीन प्रमुख डिआइजी मनोज केसीको सरुवा नै भयो।

बुढानीलकण्ठ क्षेत्रमा धरपकडको नेतृत्व गरेको आरोपित एआइजी श्याम ज्ञवालीविरुद्ध गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरु गर्दै केन्द्रीय अनुसन्धान ब्युरोबाट सरुवा गरिसक्यो।

प्रारम्भमा प्रहरीले बेचनसँग उपल्लोतहका नेता र नेतृहरूको भूमिका र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताबारे केन्द्रित भएर बयान लिने प्रयास गरेको थियो। तर उनले बयान सबै अस्वीकार गरेका थिए। सरकार बदलिएर गृह मन्त्रालयको नेतृत्व बदलिएपछि उनीमाथिको दबाब कम भएको थियो।

प्रहरी बयानमा उनले यो प्रकरणमा अन्य नेताहरूको मात्र हैन आफ्नै संलग्नता पनि अस्वीकार गरे। तर प्रारम्भिक चरणको थुनछेक बहसबाट भने उनको नाममा धरौटी निस्किएन। पुर्पक्षका लागि कारागारै पुगे।

भदौ १, २०८१ आइतबार १८:११:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।