देववाणी टिमको रोहित अधिकारी पथ, प्रमोसन कार्यक्रममा बडीगार्डको शान देखाउँदा कलाकार भए कार्टुन
काठमाडौँ : गत महिना प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले फिल्म रिलिज कार्यक्रममा कार्यक्रम चलाउने सञ्चालकको १५ हजार समेत नदिएर झुलाए। उनले फिल्मको खुद्रा कारोबार समेत मिलाउन सकेका छैनन्। तर फिल्मको प्रचारकोक्रममा उनले फिल्मका अभिनेता अनमोल केसीलाई हलमा लैजाँदा बडीगार्ड सहित पुर्याएका थिए।
अन्डर्वर्ल्डको धम्की अनि एक्लै निस्कँदा फ्यानले घेरिहाल्ने भएकाले हलिउड अनि बलिउडका कलाकारहरू देखाउन भन्दा पनि सुरक्षाका कारण व्यक्तिगत सुरक्षाकर्मी लिएर हिँड्छन्। तर नेपालका कलाकारको क्रेज कति छ भन्ने त उनीहरू सडकमै हिँड्दा पनि देखिन्छ। अहिलेसम्म एक्लै हिँड्दा कुनै नेपाली कलाकार प्रशंसकहरूबाट घेरिएर उद्धार गर्नु परेको घटना सार्वजनिक भएको छैन। तर फुर्ती देखाउनमा भने केही कलाकार अनि निर्माताले हलिउड र बलिउडलाई समेत माथ दिने नौटङ्की गर्छन् अधिकारी जस्तै।
फुर्तीफार्ती निकै थियो उनको फिल्म रिलिजको समयमा। ‘पुजार सार्की’ सँग भिड्न गएका पनि हुन्। तर फिल्म रिलिज भएपछि दर्शकले हैसियत देखाइदिए। आर्थिक रूपमा फ्लप भएपछि चुपचाप छन् अहिले उनी।
आगामी मंसिर ७ मा हलमा लाग्ने फिल्म‘देववाणी’टिमले पनि उही रोहितकै शैली देखाए। आइतबार विश्वज्योती हलमा फिल्म ‘देववाणी’ को पहिलो गीत सार्वजनिक गर्न आयोजित कार्यक्रम डेढ घण्टा ढिलो भयो।
कारण देखाइयो फिल्मका अभिनेता तथा भारतीय कलाकार कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा आउन ढिला भएकाले कार्यक्रम ढिला भएको आयोजकले बहाना बनाए। अति भएपछि फिल्मका निर्देशक बाबु साहेप बलामीले फिल्मको कार्यक्रम अगाडि बढाउने निधो गरे।
निर्देशक बलामीको आग्रहमा कार्यक्रम सुरु भयो। १२ बजेदेखि बसेका केही पत्रकार हिँड्न थालेपछि कार्यक्रम सुरु भएको थियो। २ नेपाली र हिन्दी भाषाको गीतका साथै ट्रेलर सार्वजनिक भयो तर नायक अनि नायिका भनिएका कलाकार आएनन्।
बल्ल बल्ल एक जना ४ जना बडीगार्ड सहित कार्यक्रम हलमा छिरे। कार्यक्रममा सहभागी कसैले उनलाई चिनेनन्। कालो पाइन्ट, कालो टिसर्ट अनि कालो चस्मामा रहेका बडीगार्डहरू कुनै लाउन्जको बाउन्सर जस्तै देखिएका थिए।
कार्यक्रम सकिएर पत्रकार हिँड्ने बेलामा अभिनेत्री अनुजा हल बाहिर झुल्किइन्। उनलाई कसैले वास्ता गरेनन्। उनी सेलिब्रिटीको नखरा देखाएर बसिरहिन् एक्लै। ढिला त्यो पनि बडीगार्डसहित आउँदा कति त क्रेज बढ्ला भनेर नौटङ्की गर्दा प्रमोसन कार्यक्रमै खल्लो भयो उल्टो।
भदौ २, २०८१ आइतबार १७:४१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।