पहिरोले जोखिमपूर्ण बन्यो कालीगण्डकी करिडोरको यात्रा, सडक कार्यालय भन्छ ‘अब मनसुनपछि मात्रै मर्मत’

पहिरोले जोखिमपूर्ण बन्यो कालीगण्डकी करिडोरको यात्रा, सडक कार्यालय भन्छ ‘अब मनसुनपछि मात्रै मर्मत’

नवलपरासी : ठाउँ ठाउँमा पहिरो जाँदा कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा ठाउँ ठाउँमा पहिरो गएको छ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार कोरिडोरमा ठुला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको छ। उनका अनुसार गैँडाकोट, बुलिङटारलगायतका क्षेत्रमा ठुलो पहिरो गएको छ। पहिरो पुरै हटाउन सकिएको छैन। पहिरोका कारण सडक समेत भासिएको छ।

‘पहिरो आएर सडक रोकिन्छ, अलिअलि हटाउँदै यातायात सञ्चालन गरिँदै आएको छ,’ उनले भने ‘पहिरो पूर्णरुपमा नहटाउँदा सानो पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुनः सडक अवरुद्ध हुने गरेको छ।’

 कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भासिएको सडक मनसुनपछि मर्मत गरिने बताए। अहिले पानी परिरहेकाले पहिरो पूरै सफा गर्दा पनि फेरि उस्तै हुने भएकाले मनसुन सकिएपछि राम्रोसँग सफा गर्ने योजना रहेको उनले बताइन्।

‘पहिरो नियन्त्रणका लागि धेरै बजेट लाग्छ, हामीले बजेटका लागि मन्त्रालयलाई पत्र लेखेका छौँ’ उनले भनिन्, ‘पहिरोको दीर्घकालीन समाधान नगरी सामान्य रूपमा हटाउने हो भने समय र पैसा खेर जान्छ।’

करिडोरको विभिन्न ठाउँमा एक किलोमिटर भन्दा लामो पहिरो गएको योजना प्रमुख अधिकारीले बताइन्। पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का आह्वान गरेर काम गरिने भए पनि सडक भासिएको ठाउँमा निर्माणको जिम्मा पाएकै व्यवसायीले सडक मर्मत गर्ने उनले बताइन्।

‘गैँडाकोट–राम्दी–पीपलबोट खण्ड इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड काठमाडौँले बनाएको हो, गत वर्ष निर्माण सकिएको सडक आगामी मङ्सिरमा हस्तान्तरण गर्ने तयारी भइरहेको थियो,’ उनले भनिन्,’निर्माण सम्पन्न भएको एक वर्षभित्र सडक बिग्रिएमा भासिएमा निर्माण कम्पनीले बनाउने गरी सम्झौता भएकाले अब सडक भासिएको ठाउँमा निर्माण कम्पनीले सडक बनाएर हस्तान्तरण गर्नुपर्छ।’

बुलिङटार गाउँपालिका-१ को देउढा नजिकै करिब १५ मिटर सडक भासिएर कालीगण्डकी नदीमा पुगेको छ भने विभिन्न ठाउँमा सडक चर्किएको छ । भासिएको ठाउँमा भित्ता काटेर सवारीसाधन एकतर्फी सञ्चालन गरिएको छ।

भदौ १, २०८१ आइतबार १६:२९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।