कृत्रिम कारोबार बढेकोमा आलोचित सेयर बजार साताको पहिलो दिन घट्यो, ३४ दशमलव ४७ अङ्कको ओरालो
काठमाडौँ : गत साताको कारोबारमा तीन हजार विन्दुमा पुगेको नेप्से परिसूचक यो साताको कारोबारको पहिलो दिनै ओरालो लाग्यो। सेयर बजारमा निश्चित समूह मिलेर आफू अनुकूल कम्पनीको सेयर किन्न प्रोत्साहित गरेर कर्नरिङ गराएको भन्दै आलोचना बढिरहेको बेलामा साताको पहिलो दिनमै नेप्से ओरालो लागेको हो।
गत शुक्रवार धितोपत्र बोर्डले सार्वजनिक सूचना नै जारी गरेर विभिन्न सामाजिक सञ्जाल र केही मिडियाबाट निश्चित कम्पनीको धितो पत्रको किनबेचमा प्रभाव पार्ने गतिविधि भइरहेको भन्दै लगानीकर्ताहरूलाई सचेत गराएको थियो।
पछिल्लो समय सामाजिक सञ्जालदेखि सांसदमा समेत सेयर बजार कृत्रिम रूपमा बढिरहेको र यसले नयाँ लगानीकर्ताहरू फस्न सक्ने भन्दै नियमनको आवाज उठिरहेको थियो।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा बजार बन्द भयो।
आइतबार ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भयो।
नेप्सेका अनुसार कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भयो।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ। राष्ट्रिय बीमा कम्पन, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।
लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन्। नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी आठ दशमलव ५२, न्यादी हाइड्रोपावर आठ दशमलव ४६, शुभम पावर सात दशमलव ७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले सात दशमलव ५८ प्रतिशतले गुमाएका छन्।
भदौ १, २०८१ आइतबार १६:१७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।