प्रधानमन्त्री ओलीले भेट्न समय नदिएपछि वामदेवले राष्ट्रिय सभामा चित्त दुखाए

प्रधानमन्त्री ओलीले भेट्न समय नदिएपछि वामदेवले राष्ट्रिय सभामा चित्त दुखाए

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रियसभा सदस्य वामदेव गौतमले पटक-पटक भेट्न खोजे। तर ओलीले समय दिएनन्। अनि उनले राष्ट्रियसभाको विशेष समयमा बोलेर ओलीसँग भेट्ने समय मागे।

एमालेमा आन्तरिक गुटबन्दी बढेको बेलामा उनी ओलीको विपक्षमा थिए। माधव नेपाल समूह अलग पार्टी बनाएर गए। उनले एमालेबाट राजीनामा दिएर नयाँ दल बनाउन प्रयास गरे पनि सफल भएनन्। उनले एमालेमा फर्कन पटक-पटक प्रयास गरे पनि सफल भएका छैनन्।

आइतबार राष्ट्रिय सभामा बोल्दै गौतमले प्रधानमन्त्रीसँग भेटेर देशमा घटिरहेको घटनाबारे जानकारी दिन खोजे पनि समय नपाएको बताए।

‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त। तर मैले सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न समय पाउँदिन। त्यसैले मैले आज राष्ट्रिय सभालाई गुहारेको छु’ उनले भने।

उनले भौगोलिक अवस्थाले नेपालमा विश्वकै सबैभन्दा बढी प्राकृतिक घटनाहरु घट्ने गरेको र प्राकृतिक घटनाको पूर्व तयारीमा नेपालका राजनीतिक दलका नेता र प्रधानमन्त्रीको समेत ध्यान जान नसकेको बताए।

नेपालमा जति पनि घटना घटेका छन् त्यो नेपालको प्राकृतिक अवस्था, भौगोलिक अवस्थाले घटेको उनको दाबी थियो। प्राकृतिक घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने कामका निम्ति नेपालका राजनीतिक पार्टी, प्रधानमन्त्री कसैको पनि ध्यान नगएको उनको दाबी छ।

भदौ १, २०८१ आइतबार १५:५९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।