अपरिचितले लोभ्याएकै भरमा घर छाडेर हिँड्छन् किशोरी, सामाजिक सञ्जालमा बढ्दै छ मानव बेचबिखनको धराप
काठमाडौँ : एसइई परीक्षाको नतिजा आउन बाँकी थियो। कैलालीका चार किशोरीहरूले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे। उनीहरूको चाहनाअनुरूप गाउँमा रोजगार पाउने अवस्था थिएन।
रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरूसँग इमोमार्फत एक व्यक्तिको सम्पर्कमा पुगे। भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँगको कुराकानीमा उनीहरूले घरको गरिबी र रोजगारीको अवस्थाबारे जानकारी गराए।
आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै ती पुरुषले किशोरीहरूलाई इमो एपमा कुराकानीमा २० हजार भारतीय रुपैयाँको जागिरको प्रलोभनमा पारेर भारत बोलाए। चार किशोरी अज्ञात व्यक्तिको भनाइको भरमा भारत जान कैलालीको धनगढीस्थित नेपाल–भारत सीमामा पुगे।
कहिल्यै एक्लै जिल्ला पार नगरेका ती किशोरीहरूलाई इमो माध्यमबाटै बसपार्कको टिकट कसरी काट्ने र कसरी सीमापार गर्ने तरिका समेत ती पुरुषले सिकाएका थिए। घरका कुनै सदस्यलाई जानकारी नगराई भारत जान हिँडेका किशोरीहरूलाई माइती नेपाल कैलालीले सीमामा भेटिए।
‘ती किशोरीहरूसँग न झोला थियो न कुनै सामग्री। घरमा कसैलाई नभनी भारत जागिर गर्न जान लागेका रहेछन्, मानव बेचबिखनको शङ्कास्पद अवस्था लागेर तत्काल रोक्यौँ’, माइती नेपाल कैलालीका संयोजक शिव चरण चौधरीले घटना सुनाउँदै भन्ने, ‘पछिल्लो समय सामाजिक सञ्जालले दलालको मनोबल बढाएको छ, मानव बेचबिखनको खतरा बढ्दो छ।’
चौधरीका अनुसार फेसबुक, भाइवर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमार्फत दलालले मानव बेचबिखनको धराप थापिरहेका छन्। यसले नियन्त्रणसँगै अपराधमा संलग्न व्यक्ति वा समूहसम्म पुग्न समेत कठिन छ।
माइती नेपाल कैलालीकै अर्को घटनाले पनि यो समस्यालाई अझ प्रस्ट्याउँछ। फेसबुकमार्फत धनगढीकी युवतीको एक एक भारतीय नागरिकसँग सम्पर्क हुन्छ। सुरुमा फेसबुकबाटै प्रेमभाव प्रकट हुन्छ। पछि ती पुरुष नेपालमै आएर युवतीसँग समय बिताउँछन्। विवाह गरेर भारत लैजाने प्रलोभन पार्दै ती पुरुषले युवतीलाई शारीरिक शोषण गर्छन्। पछि मात्रै युवतीले पुरुषको पहिलो बिहे भइसकेको थाहा पाउँछिन् र बिहे गर्न अस्वीकार गर्छिन्।
युवतीले बिहे गर्न इन्कार गरेको दिनदेखि ती पुरुषले जबरजस्ती दबाब र मानसिक यातना दिन थाले। युवतीलाई थाहै नदिई खिचेका गोप्य भिडियो र नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिए। भारतमा बसेर फेसबुकमार्फत पुरुषले पटक पटक युवतीलाई मानसिक यातना दिए। आफूमाथि हिंसा भएको महसुस गरेकी ती युवतीले प्रहरीमा उजुरी गर्ने प्रयास गरिन्। तर व्यक्तिको पहिचान नखुलेको र तथ्य प्रमाणित नहुँदा उनीसँग उजुरी हाल्ने आधार भएन।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९’ मा १५ देखि १६ वर्षका किशोरीहरू पूजाका लागि, विवाह गरेर जानेलगायतका प्रलोभनमा परी फेसबुक, इमोबाट चिनजानका आधारमा भारततर्फ लाने गरेको अवस्था उल्लेख छ।
आयोगले २०७७ फागुन १३ देखि २१ गतेसम्म मोरङ, इलाम, सुनसरी र झापा जिल्लामा गरेको अनुगमनबाट प्राप्त घटनाको प्रकृतिले पनि सूचना प्रविधिको प्रयोग गर्न नजान्दा बेचबिखनको जोखिम बढेको देखिन्छ।
आयोगको अनुगमनमा केही घटना समेत उल्लेख छ।
दाङकी एक किशोरीले मोबाइलमा फेसबुक चलाउँदा भारतका नागरिकको सम्पर्कमा पुग्छिन्। उनले मोडल बनाएदिने प्रस्ताव राखेपछि ती किशोरी दाङबाट रात्रि बस चढेर सुनसरीको भन्टाबारी सिमानाका हुँदै भारत जान लाग्दा निगरानी केन्द्रबाट सम्झाइबुझाई घर फिर्ता पठाएको थियो।
त्यस्तै अर्को घटना, सप्तरी जिल्लाकी किशोरी विराटनगरमा बसेर पढ्दै थिइन्। उनलाई भारतीय नागरिकले फेसबुकमार्फत मोबाइल किनिदिने बहानामा सुनसरीको भन्टाबारी हुँदै भीमनगर आउन भनेपछि ती किशोरी भन्टाबारीको सीमा नाका हुँदै पारी जान लाग्दा उनलाई सम्झाइबुझाई घर पठाइएको थियो।
मानव बेचबिखनका मुद्दा बढ्दो
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि विभिन्न ऐन नियमहरू तर्जुमा गरिएका छन्। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ जारी भएको छ।
मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाहरूको बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०६८ तथा यसको कार्यान्वयन योजना, २०७१ बनाई लागू गरिएको छ। प्रहरीले मानव बेचबिखनका अपराध मात्र हेर्ने गरी ब्युरो नै गठन गरेको छ। तै पनि नियन्त्रणको चुनौती घटेको छैन, थप बढिरहेको देखिन्छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको चार वर्षको तथ्याङ्क अनुसार मानव बेचबिखनको अवस्था उच्च देखिन्छ। आर्थिक वर्ष २०७७-७८ मा १३४ मुद्दा दर्ता भएकामा २०८०-८१ मा सङ्ख्या बढेर १६६ पुगेको छ।
महान्यायाधिवक्ताको कार्यालयको २०७९-८० को वार्षिक प्रतिवेदन हेर्ने हो भने मानव बेचबिखनविरुद्ध एक सय ९४ मुद्दा परेकामा २१ मुद्दा मात्रै फर्छ्यौट भएको देखिन्छ।
राष्ट्रिय बाल अधिकार परिषद्को आव २०७७-७८ मा जम्मा तीन हजार ६५८ बालबालिका हराएका र तीमध्ये ७६.७ प्रतिशत बालिका र २३.२ प्रतिशत बालक रहेको उल्लेख छ।
हराएकामध्ये जम्मा ८१.७ प्रतिशत बालिका मात्र फेला परेको देखिन्छ। बालक ८३.८ प्रतिशत फेला परेका छन्। हराएका बालबालिकामध्ये बालिका फेला पर्ने सम्भावना बालकको तुलनामा न्यून देखिन्छ।
राष्ट्रिय मानवअधिकार आयोगले मानव बेचबिखनको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे सरकारसँग पटक पटक सिफारिस गर्दै आएको पनि छ तर कार्यान्वयन हुन सकेको देखिँदैन।
आयोगले २०७९ मा सरकारसँग मानव बेचबिखनविरुद्धका प्रयासका केन्द्रित सिफारिस २२ बुँदामध्ये एउटा मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको तथ्याङ्कमा उल्लेख छ। अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रले पछिल्लो समय मानव बेचबिखनविरुद्धका मुद्दा दर्ता बढ्दै जानु जनचेतना बढेको तर्क गर्छन्।
चेतनाकै कारण पीडितले प्रहरीसमक्ष आएर उजुरी दिन सक्ने भएकाले सङ्ख्या बढी देखिएको उनको तर्क छ। यद्यपि मानव बेचबिखनको अवस्था रोकथाम भने प्रभावकारी देखिएको छैन।
‘मुद्दा दर्ता सङ्ख्या बढ्नु एक अर्थमा सकारात्मक मान्नुपर्छ’, उनले भने , ‘यो भनेको पीडित सचेत हुँदै गएको सङ्केत हो। तर, हाम्रो प्रयास मानव बेचबिखन न्यूनीकरणमा नै ध्यान दिनु छ।’
सामाजिक सञ्जालमा नचिनेको अपरिचित व्यक्तिको विश्वास गरिहाल्ने लगायतका सचेतनाका लागि स्कुलका बालबालिका लक्षित ‘अनलाइन’ शिक्षा चलाउने हो भने नियन्त्रण प्रभावकारी हुनसक्छ।
मधु शाही/रासस
भदौ २, २०८१ आइतबार १४:२९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।