शुक्लाफाँटामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको संख्या शून्य

शुक्लाफाँटामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको संख्या शून्य

काठमाडौं : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य रहेको छ। गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि अवैध रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्यमा झरेको हो।
 
सुरक्षित गर्भपतन सेवाको पहुँच नगरपालिकाको ग्रामीण तथा सुदूर क्षेत्रसम्म विस्तार भएपछि असुरक्षित रुपमा गराउँदै आएको गर्भपतनको कार्य रोकिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। 

'विगतमा असुरक्षित रुपमा सूचीकृत नभएका निजी मेडिकलमा महिलाले गर्भपतन गराउँदै आएका थिए', उनले भने, 'असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको प्रजनन अङ्गमा जटिलता देखापर्ने समस्या थियो, अज्ञानताका कारण ग्रामीण क्षेत्रका केही महिलाले जडीबुटीको प्रयोग गरी जोखिमयुक्त तरिकाले गर्भपतन गराउने गरेका थिए।'
 
नगरपालिकाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गर्भवती महिलाको मञ्जुरीमा सुरक्षित रुपमा सूचीकृत स्वास्थ्यकर्मीले गर्भपतन सेवा प्रदान गर्न थालेपछि अवैध रुपमा हुने गर्भपतनको कार्य रोकिएको हो। 

उनका अनुसार आव २०८०/८१ मा दुई सय ९२ महिलाले नगरपालिकामा रहेका सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिएका छन्। त्यसमा २० वर्षमुनिका पाँच र २० वर्षमाथिका दुई सय ८७ महिलाले सुरक्षित गर्भपतन सेवा लिए।
 
गर्भपतनपश्चात् परिवार नियोजनका साधन छोटो अवधिका लागि अपनाउने महिलाको सङ्ख्या एक सय ४६, गर्भपतनपछि लामो अवधिका लागि परिवार नियोजनका साधन अपनाउने महिलाको सङ्ख्या १८ र गर्भपतन गराएपछि जटिलता भएका महिला दुईजना छन्। 

स्वास्थ्य संस्थामै निःशुल्क रुपमा गर्भवतीको मञ्जुरीमा गर्भपतन सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीले प्रदान गर्न थालेपछि सो सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको शाखा प्रमुख भट्टले बताए। 

नगरपालिकाको झलारी, पिपलाडी, पिताम्बर स्वास्थ्य चौकी, बन्साहा सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र वनसमिति गरी पाँच स्थानबाट निःशुल्क गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ। स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी गर्भपतन गराइँदै आएको छ। 

गर्भको अवधि ६३ दिन (नौ हप्ता)सम्मको भएमा महिलाको इच्छाअनुसार औषधिको प्रयोग गरेर गर्भपतन गराउन सकिने व्यवस्था स्वास्थ्य संस्थामा छ।  

भदौ १, २०८१ आइतबार १४:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।