स्वस्तिमाले आफूलाई माग्न डाक्टर आएको सम्झिएपछि निश्चलले भने 'त्यो भन्दा पहिल्यै मैले चारो हालिहालें'
काठमाडौं : निर्देशक तथा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको विवाह भएको ९ वर्ष भइसक्यो। अहिले पनि उनीहरू फिल्म तथा गीतमा सहकार्य गर्दै आएका छन्। उनीहरुले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनको तयारीमा छ।
आगामी असोज १७ बाट हलमा प्रदर्शनमा आउन लागेको यस फिल्मको केही समयअघि पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको प्रमोसनकै क्रममा निर्माण टिमले शुक्रबार छायाँ सेन्टरको हलमा फिल्मको गीत र ट्रेलर पनि रिलिज गर्यो। उक्त रिलिज कार्यक्रम निकै रोचक रह्यो।
गीत र ट्रेलर हेरेपछि पत्रकार कलाकारबीच प्रश्न उत्तरको कार्यक्रम राखियो। सोही क्रममा निश्चललाई पत्रकारका तर्फबाट ‘तपाईंले स्वस्तिमासँग बिहे गर्नुअघि कतिजना बेहुली छान्नु पर्यो ?’ भनेर सोधियो। निकै अफ्ठ्यारो प्रश्न आएपछि निश्चलले पनि मुस्कुराउँदै जवाफ फर्काए, ‘स्वस्तिमालाई नै सोधेको भएपनि भन्दिन्थ्यो होला।’
निश्चलको जवाफ सुनेकी स्वस्तिमाले भनिन्, ‘पास्ट इन पास’।
त्यसपछि निश्चलले जवाफमा, ‘कति वटा भनेर गन्न थाल्यो भने त’ भन्दै टारे।
निश्चल र स्वस्तिमा व्यक्तिगत कुरामा खुल्दै गएपछि पत्रकार के रोकिन्थे र?
फेरि थपिहाले, ‘पछिल्लो समय अडियन्सका हिसाबले नम्बर वान नायिका स्वस्तिमा खड्का आउनुहुन्छ। तपाईंको सुचिमा नम्बर वान हो की होइन नायिका स्वस्तिमा?’
पत्रकारको प्रश्न सुन्नेबितिक्कै स्वस्तिमाले निश्चलतर्फ हेरेर 'हो हो' भन्दै जवाफ फर्काउन लगाइन्। निश्चलले अनकनाउँदै हो भन्ने जवाफ दिए।
उनीहरुले जवाफ सहजै फर्काउन थालेपछि थपियो अर्को प्रश्न, ‘स्वस्तिमा जि, निश्चललाई के देखेर मन पराउनुभयो?’
'मान्छे मन पर्यो भन्दा पनि ऊ मान्छे राम्रो छ। ऊ मसँग मात्र राम्रो होइन। ऊ सबैसँग राम्रो छ। त्यही भएर यो मान्छे मेरो लागि राइट हुन्छ भनेर नै होला सायद,’ उनले भनिन्।
उनले सोही कार्यक्रममा आफूलाई माग्न डाक्टर आएको थियो कि क्या हो सायद भन्दै निश्चलतर्फ हेरिन्। हेर्दा हलमा हाँसोको माहोल बन्यो।
अनि निश्चलले माइक लिँदै भने, ‘त्यो आउने मैले मौकै दिइन के। उमेर बढ्न आँट्दै थियो। मैले यसो चारो हालिहालेको।’
यही फिल्मबाट स्वस्तिमा खड्का निर्मात्री बनेकी हुन्।
यस फिल्मका लेखक तथा निर्देशक सजन काफ्ले र आकाश बराल छन्।
भदौ २, २०८१ आइतबार १३:१९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।